images
images
  • पहिलो पटक चीन हुँदै तेस्रो देशबाट नेपालमा आयात

    काठमाडौं – चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ।

    तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ ।

    भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो । यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ।

    अन्तर्राष्ट्रिय व्यापारमा खास गरी तेस्रो देशबाट हुने आयातमा भारतलाई मात्र ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरिँदै आएकोमा बुधबारदेखि चीनबाट पनि तेस्रो देशको सामान आयात गर्न सकिने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको छ ।

    २०७२ चैत ८ गते चीनसँग पारवहनका लागि पहिलो पटक सम्झौता भए पनि २०७५ भदौ २२ मा मात्र त्यसको कार्यविधि टुङ्ग्याइएको थियो । कार्याविधि नै टुङ्गो लागेको करिब पाँच वर्षपछि मात्र यो कार्यान्वयनमा आएको हो ।

    भूकम्प र त्यसलगत्तैको भारतीय नाकाबन्दीपछि सरकारले अन्तर्राष्ट्रिय व्यापार पारवहनको विकल्प खोज्दै चीनसँग २०७२ चैत ८ गते पारवहन सम्झौता गरेको थियो । यस्तो सम्झौताले तेस्रो देशबाट आयात गर्नुपर्ने सामान चीनका बन्दरगाह प्रयोग गरेर ल्याउन सक्ने बाटो खुला गरिदिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images