काठमाडौं- आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।
अहिले बिहान पनि गण्डकी प्रदेशका केही तथा कोशी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक र दुई ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैबीच दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन्।
यस्तै राति मधेश प्रदेशका एक र दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा ९मंगलबार बिहान ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।


विश्व खबर 

















