images
images
  • पखाला लागेर अस्पताल गएका तामाङको कसरी भयो मृत्यु ?

    काठमाडौं- गत स्थानीय तहको निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा लोकप्रिय मतका साथ बिजयी भएका नेपाली कांग्रेसका नेता श्यामसुन्दर तामाङ अल्पायुमै अस्ताएका छन् ।

    उपाध्यक्ष पदमा निर्वाचित भएको १३ महिना नबित्दै ५० बर्षिय तामाङको उपचारको क्रममा आईतवार दिउँसो निधन भएको छ । पेट दुखाई र सामान्य झाडापखाला लागेपछि भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा विहिवार भर्ना भएका उपाध्यक्ष तामाङको स्वास्थ्यमा एक्कासी गम्भिर समस्या देखिएपछि गंगालाल हृदयरोग केन्द्रमा रिफर गरिएको थियो । शनिवार विहान स्वास बढेको र मुटुको धड्कन अस्वभाविक भएपछि गंगालाल रिफर गरिएको मध्यपुर ठिमी अस्पतालले जनाएको छ ।

    स्वास्थ्यमा सुधार नआएपछि आईतवार दिउँसो मुटुको शल्यक्रिया गरिएको र त्यसपछि अवस्था झनै गम्भीर बनेपछि बचाउन नसकिएको गंगालाल अस्पताल श्रोतको भनाई छ । यद्धपि, उपाध्यक्ष तामाङको निधनका बारेमा गंगालाल अस्पतालले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । उच्च रक्तचापको बिरामी समेत रहेका तामाङले केही बर्ष यता नियमित प्रेसरको औषधी सेवन गर्दै आएका थिए । नियमित औषधी सेवन गरेपनि तामाङ ओछ्यान पर्ने गरी बिरामी भने भएका थिएनन् । सामान्य स्वास्थ्य समस्यापछि आफै अस्पताल पुगेका उनी अन्तत सँधै सँधैकालागि बिदा भएका छन् ।

    तामाङ गत शनिवार अर्थात असार २३ गतेमात्रै दोलखावाट सकुशल भक्तपुरको बालकोटस्थित घरमा आएका थिए । गाउँ सभा सम्पन्न गरेर आएका उनी काठमाडौंमै केही दिन बस्ने योजनामा थिए । मृतक तामाङका एक छोरा र एक छोरी रहेकी छिन् । श्रीमती समेत उच्च रक्तचापको बिरामी रहेको बताईएको छ । उनको शवलाई आज बौद्धस्थित तामाङ गुम्बामा राख्ने र परिवारका सदस्य आएपछि बौद्ध बिधि अनुसार अन्त्यष्टि गरिने पारिवारजनले जनाएका छन् ।

    नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय तामाङ स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनवाट ४ हजार ७ सय ४१ मत ल्याएर बिजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images