images
images
  • साझाका बिजुली बस आजदेखि सुरु, पाटनढोका-रत्नपार्क-जोरपाटीसम्म पुग्ने

    काठमाडौं- साझा यातायातका तीन वटा बिजुली बसले सेवा सुरु गरेको छ । उक्त बसले पाटन ढोकादेखि जोरपाटीसम्मको सेवा सुरु गरेका हुन् ।

    सोमबार दिउँसो ललितपुर मेयर चिरिबाबू महर्जनद्वारा शुभारम्भ गर्दै सेवा सुरु हुनेछ ।

    बस पाटनढोकाबाट रत्नपार्क–ज्ञानेश्वर–रातो पुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिण ढोकासम्म पुग्नेछ ।

    २६ नम्बर रुट बन्द भएको लामो समयपछि साझा यातायातले विद्युतीय बस सेवा सुरु गरेको हो।

    साझा यातायातले भित्राएका ४० वटा बस मध्ये पहिलो चरणमा ३ वटा उक्त रुटमा चल्ने भएका छन्। अबको २ हप्ताभित्र १५ वटा बस सञ्चालनमा आउने जनाएको छ।

    ललितपुरका मेयर चिरिबाबु महर्जनले विहान ५ देखि राति ९ बजेसम्म नियमित बस सञ्चालन गर्न आग्रह गरेका छन्। मेयर महर्जनले साझा यातायातलाई चार्जिङ स्टेशन राख्नकोलागि सहयोग गर्ने बताए।

    यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएको छ । चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो ।

    साझा यातायातको संचालक समितिले नयाँ प्रविधि बिजुलीमा चल्ने बस भएकोले तीन पटक गरी बस खरीद गर्ने निर्णय गरेको थियो ।

    साझाका अनुसार पहिलो ‘लट’ मा ४० वटा बस आएका हुन् । साझा यातायातले बस खरीदको लागि अनुसन्धान सुरु गरेको एक महीना नपुग्दै ‘सरकारबाट प्रक्रिया अगाडि नबढाउने’ भनेपछि प्रक्रिया रोकिएको थियो भने एक वर्ष पछि फेरि ‘काम अगाडि बढाउनू’ भनी पत्र प्राप्त भएको थियो । यसरी बस खरीदमा डेढ वर्ष ढिलाइ भएको थियो ।

    साझा यातायातलाई बिजुली बस भित्र्याउन पुनः अनुमति दिएपछि यस्ता बसहरू आएका हुन् । ‘रातभरि चार्ज गर्न चाहिने डिपो पनि सरकारद्वारा उपलब्ध हुनुपर्नेमा आजसम्म यसो हुनसकेको छैन’ साझाले विज्ञप्तिमा भनेको छ,‘साझा यातायातको आफ्नै प्राङ्गणमा भने साविक डिजल बसले नै ठाउँ लिएका छन् ।’

    साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले ललितपुर, काठमाडौं र गोकर्णेश्वर तीनवटा सहर जोड्न सहयोग पुग्ने बताए। सरकारले ३ अर्ब रुपैयाँ सेयरमा लगानी गरेकाले विद्युतीय बस खरिद गर्न सफल भएको बताए। थप ७०–८० वटा विद्युतीय बस ल्याउनकोलागि अध्ययन भैरहेको जानकारी दिए।

    ३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

    दीक्षितले चार्जिङ डिपोको लागि सरकारले जग्गा उपलब्ध नगराउँदा सबै बस सञ्चालनमा समस्या आएको बताए। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जग्गा खोज्न सल्लाघारी, खुमलटार, गुर्जुधारा, ट्रलिबस डिपो, पुलचाकको सहकारी विकास बोर्डको प्रांगण लगायतका ठाउँको सूची तयार भएपनि साझालाई दिन पहल नभएको गुनासो गरे।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images