images
images
  • ६ औं वार्षिकोत्सव विशेष: ‘घाँस-दाउरा टु निजी क्षेत्रको नेतृत्वमा चन्द्र’

    झण्डै चालीस वर्ष पुग्न लाग्यो, चन्द्र ढकाल काठमाडौं छिरेको । २०४१ साल मंसिर तिरको कुरा हो, बुबाको निधनपछि एक्लिएकी आमा र टुहुरा भएका भाइबहिनीलाई छोडेर उनी सपनाको शहर काठमाडौं छिरेका थिए । गोजीमा जम्मा ३५ रुपैयाँ थियो । खल्ती गरम नभए पनि उनमा अदम्य साहस र मेहनत गर्ने अठोट थियो । सायद त्यही साहस, मेहनत र अठोटले आज चन्द्र ढकाल देशकै सफल उद्यमी भएका छन् । चार दशकअघि चन्द्रको जीवन औँशीको रात जस्तै निस्पट अँध्यारो थियो, अहिले पूर्णिमाको प्रकाशले उज्यालिएको छ । देशकै औँलामा गन्न सकिने सफलतम् उद्यमी मध्येका एक हुन्, उनी । भन्छन्, ‘विगत सम्झिँदा भावुक हुन्छु ।’

    घर छोड्दा उनले आमालाई खुशी दिने र भाइबहिनीका अभाव पूरा गर्ने सीमित लक्ष्य लिएका थिए । “म त्यतिबेला यस्तो हुन्छु भनेर निस्कएको होइन । आमाको आँशु पुछ्नेछु भन्ने मात्रै सोच थियो”, भन्छन्, “अहिले फर्केर हेर्दा भावुक हुन्छु र खुशीपनि लाग्छ ।”

    दुई÷साढे दुई दशकअघिसम्म पनि उनी गुमनाम नै थिए । आफ्नो व्यवसायको विस्तार तीव्र गतिमा गरेर उनी छोटै अवधिमा यस क्षेत्रको उचाइमा पुगेका छन् । उनको नाम एउटा सफल र उदारहणीय उद्यमीका रुपमा लिइन्छ । नेपाली उद्यम क्षेत्रका परिचित उनी अहिले उद्योग वाणिज्य महासंघ नेतृत्व समाल्ने अवसरसमेत पाएका छन् ।  उद्योगी–व्यावासायीका नेता ढकालले विभिन्न क्षेत्रमा लगानी गरेका छन् । जलविद्युत, रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, होटल, सवारी साधन बिक्री, पर्यटन, सूचना प्रविधि, कार्गो लगायतका क्षेत्रमा उनको लगानी छ । उनको व्यापार–व्यावसायको सञ्जाल आईएमई ग्रुपअन्तर्गत रहेको छ ।

    यसरी सुरु भएको थियो उद्यमी यात्रा
    chandra dhakal hot

    २०२२ मा बागलुङको अमलाचौरमा जन्मिएका ढकाल एसएलसी पढिसकेपछि राजधानी छिरेका हुन् । पढाइ पनि गर्ने र कमाइ पनि गर्ने उनको उतिबेलाको लक्ष्य थियो । उनले सबैभन्दा पहिले स्वस्तिक हेरिटेज भन्ने कम्पनीमा काम गरे । पेप्सीकोला वितरक कम्पनी, स्वस्तिक हेरिटेजमा काम गर्दै पढाइ पनि अघि बढाए । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा जागिर गरे । सहायक लेखापाल ढकालले जागिरसँगै व्यवसाय शुरु गर्ने सोचे । उनले कोल्ड स्टोर खोले । त्यसपछि कार्गोको बिजनेस शुरु गरे ।

    उनले भाइसँगै कार्गो व्यवसाय शुरू गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो भएको सुने । कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउने सोच बनाएका ढकालले नेपाली गार्मेन्ट उत्पादन लिएर अमेरिका जाने तयारी गरे । गाउँको आफन्तले जापानबाट जाने भनेपछि उनको मन फेरियो । उनी जापान हुँदै अमेरिका जाने गरी उडे । त्यहाँ गएर अमेरिका जाने मेसो नमिलेपछि उनले दश महीना एउटा कारखानामा काम गरेका थिए । भाइले नेपालमा कार्गोको काम गरिरहेका बेला भाइ नै अमेरिका गएपछि उनी जापानबाटै नेपाल फर्किए । विदेशबाट पैसा पठाउने औपचारिक प्रणाली शुरू गर्ने एक मात्रै मान्छे चन्द्र ढकालसँग वैदेशिक रोजगारीको अनुभव छ ।

    व्यावसायिक क्षेत्रको दायरा बढाउँदै अहिले आईएमई ग्रुपका अध्यक्ष हुन् । जसले विभिन्न क्षेत्रमा लगानी गर्छ । रोचक कुुरा त के छ भने, कुनै बेला बैंकका सामान्य कर्मचारी ढकाल अहिले उत्कृष्ट मध्येकै एक बैंकको प्रमुख सञ्चालक हुन् । यहाँसम्मको व्यावसायिक यात्रा तय गर्न ढकालले निकै संघर्ष गरेका छन् । पिता गुमाएपछि आफूमा आश्रित परिवारलाई अघि बढाउने दायित्व कम्ती चुनौतीपूर्ण थिएन । पढाइसँगै रोजगारी, त्यसपछि उद्यमतिर बढेका उनका पाइला उचाइतिर अग्रसर छन् ।

    सबैभन्दा कठिन क्षण थियो, अभिभावक गुमाउनु पर्दा । उनी १६ वर्षको हुँदा उनको पिताको निधनपछि बोकेको दुःखको भारीले उनलाई सफल बनाएको हो । २०४१ सालमा काठमाडौं आउँदा प्लस टू पढ्दै काम गर्ने उद्देश्य बोकेका ढकालले केही समय जागिर पाएनन् । पछि ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिर शुरू गरे । केही समयपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापाला ढकाल बैंकमा प्रवेश गरे । कुनै बेला राष्ट्रिय वाणिज्य बैंकका खरिदार ढकाल अहिले आफै बैंक चलाउछन् ।

    जागिर छाडेर व्यावसायिक यात्रा
    उनको जागिरे जीवन करीब चार वर्ष जति रह्यो राष्ट्रिय वाणिज्य बैंकमा । त्यही समयमा व्यवसायको सोच र आँट पलायो र विसं २०४८ तिर सानो कोल्डस्टोर राखे । त्यसपछि उनको व्यवसाय हो– कार्गो । त्यतिबेलासम्म भाइ रामु (हेमराज ढकाल, हाल आइएमई ग्रुपका प्रबन्ध निर्देशक) पनि उनलाई साथदिन आइसकेका थिए । भाइ रामु उनको हरेक व्यावसायिक जीवनको साथमा रहँदै आएका छन् । व्यवसायका लागि उनीहरुलाई १२-१३ लाख चाहियो । उनले आफूले काम गर्ने बैंकमै ऋण मागे, तर कर्मचारीले ऋण नपाउने भनियो । उनले त्यसै दिन राजीनामा दिएर भने, ‘अब त दिन मिल्छ नि ।’ यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुन् ।

    त्यस दिनलाई कसरी लिनुहुन्छ ? भन्छन्, ‘त्यो दिन सही निर्णय गरेंछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरें भन्ने बारेमा अहिले पनि म बेला–बेलामा सोच्ने गर्छु । त्यस समय बैंकको जागिर सबैलाई प्यारो थियो । तर, मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला? कहिलेकाहीँ आफैँ पनि छक्क पर्छु ।’ त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरु बनाएको छ ।

    व्यवसाय थालेका उनले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनी अमेरिका जाने तयारी गरे, भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र काम गरे ।

    ‘त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । पछि अमेरिका गइनँ ।’ त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई । उनीपछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । ढकाल दाजुभाइको त्यही अनुभवको उपजले जन्माएको हो आइएमई ।

    chandra dhakal 2

    आइएमईको शुरुवात
    कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ । उनीहरुको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ । अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उनीहरुको कडा परिश्रमको टेको लागेको छ ।

    ‘आइएमई’ सँग सायदै कोही नेपाली अपरिचित होलान् । यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ । नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो । नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजश्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरु कम्पनीबाट जारी नै छ ।

    तरपनि त्यस समय हुण्डीमार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलोपटक यो नीतिगत व्यवस्थाको विकल्प उनीहरुले नै दिएका हुन् । यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटिनबाट पनि जोगाएको छ । किनभने हुण्डीको रकम हिनामिनाका घटनाले हुने गरेका आपराधिक घटनाका समाचार त हामीले विगतका वर्षहरुमा सुन्ने गरेकै हौं । सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला गर्यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो ।

    ‘यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौं, जुन सफल भयो । त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ । यो हाम्रा लागि ठूलो खुशी हो, आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहिं लागेको थिएन’, उनको अनुभव छ, ‘हामीले एक खालको जोखिम नै मोलेका थियौँ भन्ने लागेको हो । तर जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ ।

    शुरुआती दिनहरुमा हामीले आइएमई खोलेका छौं, तपाईंहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पुर्याइदिन्छौं भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन् । तर हाम्रो इमान्दारीले विस्तारै हामीलाई यहाँसम्म ल्यायो ।’

    हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप’ पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो भन्दा फरक पर्दैन ।

    विदेशमा हरेक श्रमिकदेखी परिवारको मनमनमा आईएमई
    ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाहरुको रेमिट्यान्स भित्र्याउने एउटा प्रमुख कम्पनी आईएमईका सञ्चालक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा थिए । उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एकजना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए । भन्छन्, ‘१० महिना जापानको एउटा छापाखानामा काम गरेँ ।’

    त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । अब रामु जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किए । त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुण्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो ।

    आईएमईको सफलता
    chandra dhakal 2सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुण्डीकै कारण कामदार ठगिने घटनाहरु बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो । ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही साल । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो ।

    उनले त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार ग¥यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो । ‘मलेसियाको केन्द्रीय बैंकबाट पनि स्वीकृति लिएर मलेसियाको ४–५ ठाउँबाट सेवा सुरु ग¥यौं’, ढकाल भन्छन्, ‘नेपालमा काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरेका थियौं ।’

    विदेशमा रहेका नेपालीहरुलाई आईएमईबारे बुझाउन निकै मेहनत परेको उनी बताउँछन् । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ‘ब्रान्डिङ’ ग¥यो । विदेश जाने नेपालीको संख्यासँगै आईएमईको सेवा र विश्वसनीयता विस्तार भएको उनले बताए ।

    ‘मलेसिया सरकारले आईएमईलाई यति विश्वास ग¥यो कि नेपाल पैसा पठाउन पाँच वर्षसम्म अरु कम्पनीलाई लाइसेन्स नै दिएन’, ढकाल भन्छन्, ‘त्यो कारण पनि मलेसियामा व्यवसाय फैलाउन कम्पनीलाई कर लाग्यो ।’ अहिले आईएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको कुनै बैंक या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले ‘पैसा आईएमई गरिदिनुस्’ भन्ने गरेको अवस्थाले देखाउँछ । नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैंक पुग्नेले समेत ‘आईएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्था बनेको ढकाल बताउँछन् ।

    यसरी ढकाल दाजुभाईको अगुवाईमा नेपालमा मनी ट्रान्सफर विश्वासिलो व्यवसाय त बन्यो नै अनौपचारिक च्यानलबाट रकम भित्रिने क्रम पनि लगभग बन्दको अवस्थामा पुगेको छ । आईएमईले मलेसियामा करिब ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । अहिले नेपाल भित्रिने वार्षिक दुई खर्ब बढी रेमिट्यान्समध्ये २५ देखि ३० प्रतिशत आईएमईबाट आउँछ । नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आइएई बैंक नै शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरे ।

    जन्मथलोको त्यो माया
    जन्मिएको माटोको औधी माया छ, आफ्नो जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरु खाली हात फर्किँदैनन् । ‘यो जन्मभूमिप्रतिको माया नै हो’, उनी भन्छन् । उनी समय पाएसम्म आफ्नो जन्मघर पुग्ने गर्छन् । भन्छन, ‘सानोमा खेलेको माटोको छिंडी, आँगन र करेसाबारीले हृदय छुन्छ । कहिलेकाहीं पुग्छु, बडो आनन्द लाग्छ ।’

    कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरि चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ? हाम्रो जिज्ञासामा निकै भावुक बनेका ढकाल गम्भीर हुँदै भन्छन् ‘जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पर्यो, तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ । अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु ।’

    सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा छ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेको छ । सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी थिइन् । उनका स्व पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ ।

    ‘विभिन्न कार्यक्रममा होस् या मिडियाले समाचार लेख्दा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ । यो देशका सबै नेपाली सफल छन् । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ’, उनको भनाइ छ ।

    महासंघ नेतृत्वमा पु¥याएको त्यो खुड्किलो
    chandra dhakal shekhar golcha

    चन्द्र ढकाल दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल एसोसिएट उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुँदै महासंघको अध्यक्ष बनेका हुन् । ढकाललाई महासंघको नेतृत्वमा जानुपर्छ भनेर महत्वकांक्षा देखाउने व्यक्ति हुन् सुरज वैद्य । ‘अहिले सर्वसहमतिमा निर्वाचित हुनु भनेको भविष्यमा योभन्दा माथिल्लो पदमा पुग्ने सम्भावनालाई प्रस्टसँग देखाउँछ,’ एसोसिएट उपाध्यक्षमा निर्वाचित भएपछि महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले प्रतिक्रिया दिएका थिए, ‘चन्द्रजीलाई जसरी हामीले निर्विरोध बनाउन सक्यौं, यो हामी सबैका लागि गौरवको विषय पनि हो ।’

    सबैसँग सम्बन्ध स्थापित गर्न सफल भएका ढकाल पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर अर्थात् ७ महिना अघिदेखि एसोसिएटतर्फको उपाध्यक्षमा चुनाव लड्ने भन्दै प्रचार गर्न थाले । त्यसबेलासम्म पनि गोल्छा समूहले ढकाललाई सुरज वैद्यतिरको मान्छे भनेर पूर्णरुपमा विश्वास गरिसकेको थिएन । त्यसैले मुरारका र गोल्छा एसोसिएटतर्फको उापध्यक्षका लागि ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानप्रति बढी झुकाव राख्थे ।

    गोल्छा समूहबाट ज्ञानेन्द्रलाल र चन्द्रको एसोसिएट उपाध्यक्षमा दाबी थियो । दुवैले चुनाव लड्ने बताउँदै आएका पनि थिए । त्यसैले यो टिम फुट्छ कि भन्ने आशंका पनि गरिएको थियो ।
    पूर्वअध्यक्ष चण्डीले चन्द्रलाई खुलेआम सहयोग र समर्थन गरे । महासंघको राजनीतिक समीकरणमा चण्डीको निकै ठूलो भूमिका विगत र अहिलेको समीकरणले पनि पुष्टि गर्छ ।
    गोल्छा समूहको एकमात्र उद्देश्य शेखरलाई वरिष्ठ उपाध्यक्षमा चुनाव जिताउनु हो । ‘अवस्था यस्तो बनिदियो कि गोल्छा समूहले चन्द्रलाई लिएर अघि नबढे निर्वाचन जित्ने ढुक्क भएन,’ गोल्छा समूहलाई समर्थक गर्ने एक पूर्वअध्यक्ष भन्छन्, ‘त्यसैले हामीले उनलाई उपाध्यक्षको उम्मेदवार बनायौं ।’

    लामो अध्ययनपछि टिमले गरेको विश्लेषणलाई अर्का प्रत्यासी ज्ञानेन्द्रले स्वीकार गरे । र, उपाध्यक्षको दाबी छाडेर कोषध्यक्षमा चुनाव लड्न तयार भए । गोल्छा समूहले ज्ञानेन्द्र र चन्द्रको व्यवस्थापन गर्न सफल भयो । तर, गोल्छा समूहकै सौरभ ज्योतिले एसोसिएट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे । समीकरण मिलिसकेको अवस्थामा ज्योतिको उम्मेदवारी घोषणाले गोल्छा समूहको टाउको दुखायो ।

    कतै गोल्छा समूह छाडेर ज्योति किशोर प्रधानको टिममा पो जान्छन् कि भन्ने चिन्ता भइरह्यो । तर, गोल्छा समूहले अन्तिम समयमा आएर ज्योतिको पनि व्यवस्थापन ग¥यो । गोल्छा र ज्योति समूहबीच बाउ पुस्तादेखिकै अब्बल सम्बन्ध थियो । जुन अहिले शेखर र सौरभको पुस्तासम्म पनि यथावत् छ । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले विराटनगर पुगेर उम्मेदवारी घोषणा गरेका थिए । त्यसबेला उनले आफ्नो र आफ्नो टिमबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षको उम्मेदवारी घोषणा गरे । र, चन्द्र ढकाल आफ्नो टिमबाट एसोसिएटको उपाध्यक्ष हुनसक्ने प्रचार गरे । प्रधानको त्यस्तो प्रचारले गोल्छा समूहलाई चन्द्रलाई नछाड्न झन दबाब प¥यो । र, अन्तिममा गोल्छा समूहले चन्द्रलाई एसोसिएट उपाध्यक्षको उम्मेदवार बनाउने निधो ग¥यो ।

    ढकाललाई दुबै समूहले आफ्नो दाबी गरेपछि अब सुरु भयो उनलाई निर्विरोध बनाउने राजनीति । ढकाललाई निर्विरोध बनाउन शेखर गोल्छा समूह र किशोर प्रधान समूह दुबै लाग्यो । त्यसबेला, गोल्छा समूहका समर्थक चण्डीराज ढकाल, पशुपति मुरारकाहरु पनि लागे भने प्रधान समूहका समर्थक सुरज वैद्य, कुशकुमार जोशीहरु पनि । फलस्वरुपः ढकाल एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images