images
images
  • रवि लामिछानेको राहदानीबारे अनुसन्धान शुरु

    काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

    पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यसबारे अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको जानकारी दिए ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ माघमा लामिछानेसँग नेपाली नागरिकताको प्रमाण पत्र नभएको ठहर गरेसँगै उनले सांसद्, मन्त्री र पार्टी सभापति पद गुमाएका थिए । पछि फेरि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसार निवेदन दिएका थिए ।

    नयाँ नागरिकता प्राप्त गरेपछि उनी पार्टी सभापति बनेका थिए । त्यसअघि उनले पुरानै नागरिकताको आधारमा राहदानी बनाएर प्रयोग गरेका थिए ।

    लामिछानेले २०५० सालमा वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका थिए । पछि अध्ययन र रोजगारीको सिलसिलामा उनी संयुक्त राज्य अमेरिका पुगेका थिए ।

    २१ फेब्रुअरी २०१४ मा उनले अमेरिकी नागरिकता लिएका थिए । यसको तीन वर्षपछि पारिवारिक भिसामा नेपाल आएर उनी बसेका थिए । त्यसक्रममा उनले नेपालमा कार्य अनुमति लिएर एक टेलिभिजन च्यानलमा कार्यक्रम चलाएका थिए । त्यहीबीच अवैध नागरिकताको आधारमा बनाएको राहदानी लिएर उनी रिपोर्टिङका सिलसिलामा विभिन्न मुलुक पुगेका थिए ।

    गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखा रविको नागरिकताबारे छानबिन गर्न उजुरी परेपछि १२ मंसिर २०७९ मा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन पुगेको थियो । प्रशासनले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई छानबिन गर्न भनेको थियो । पछि जिल्ला अदालत, काठमाडौंमा सफलले रिट निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images