रुकुम पूर्व- रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ खोर्सलेका १९ वर्षीय हरि बुढाथोकीले २०७८ साउनमा सिस्ने–७ नाथिगार घर भएकी १७ वर्षीया एलीना बुढामगरसँग प्रेम विवाह गरेका थिए। एलीनाको हजुरआमा बिक हुन, जसलाई अझै पनि समाजमा जात खसेको (बिटालु) भन्ने प्रचलन छ। यसै कारणले हो यो परिवार अहिले आफ्नै दाजुभाइ ९सन्तान०बाट जातीय विभेदको शिकार भइरहेको छ।
हरिका बुवा डिलबहादुर बुढाथोकी गएको मंसिर दोस्रो हप्तातिर डाँडागाउँदङ्चेल डेरा आफ्नो दाजुभाइ (सन्तान) को शुद्धिकार्यमा संलग्न हुन गएका थिए। मृत्यु भइसकेपछि उनले कपाल खौरेर विधिअनुसार कर्म पूरा गरेका थिए। त्यहाँ उनले आफ्नो सन्तानको रीतिरिवाजअनुसार मानो रकम हाले तर त्यस दिन डिलबहादुरमाथि गाली गलौज र अभद्र व्यवहार मात्रै भएन ढुंगामुढा प्रहार गरी लखेटे र उनलाई ज्यान मार्ने धम्की दिए। डिलबहादुर भन्छन्, ‘मैले मानो हालेर शुद्धिकार्यमा संलग्न हुनलाग्दा आफूलाई ‘कुजात’ बुहारी ल्याएर कुललाई अशुद्ध गरेको भन्दै गालीगलौज भयो।’
मृत्यु संस्कारमा पुग्दा उनीमाथि प्रायः जसोले गालीगलौज र अभद्र व्यवहार गरी ढुंगामुढासम्म गरेका थिए। त्यहाँ खटिएका ब्राहमण तुलसी गौतमले समेत शुद्धीकार्यको गौत छुट्टै खान निर्देशन दिए। उनलाई अभद्र व्यवहार गर्नेहरू सामाजिक प्रतिष्ठामा रहेका व्यक्तिहरू समेत छन्।
डिलबहादुरलाई अभद्र व्यवहार गर्ने बुद्धिजीवी वर्गकै मान्छे थिए। उनकाअनुसार रुकुमकोटका लेखापढी व्यवसायी हिमाल बुढाथोकी र त्रिज मावि छिप्रीदहका शिक्षक दामबहादुर बुढाथोकी हुन्। सिस्ने–६ मुलपानीका कृष्ण बुढाथोकी, डाँडागाउँका यज्ञ बुढाथोकी, सिस्ने ५ रानिकोटका खड्कबहादुर बुढाथोकी र सिस्ने–६ झिङ्रीका कालीबहादुर बुढाथोकी लगायत अन्य व्यक्तिहरू र केही महिलाहरूले पनि अभद्र व्यवहार गरेको उनले आरोप लगाएका छन्।
आफ्नो बच्चा जन्मिँदा न्वारन गर्नसमेत कुनै पण्डित नआएको एलीना दुःखेसो गर्छिन्। यति मात्र होइन गत १३ माघमा झाँक्रीपानी गणेश बुढाथोकीको विवाहमा निम्तोमा भाइ हरि सामेल हुन गएका थिए। उनलाई त्यहाँ पनि अपमानित गरिएको थियो। उनलाई कुलपूजा गर्न जाँदा बहिस्कार गरेका थिए। हरिका अनुसार त्यहाँ मात्रै होइन जहाँ जाँदा पनि पटक–पटक आफूलाई धम्की आइरहेको बताएका छन्।


विश्व खबर 


















