
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि आज पार्टीले नाम टुंग्याएको छ। हिजो बसेको सत्तारुढ दलहरूको बैठकले मन्त्रीको टुंगो लगाएको हो ।
स्रोतका अनुसार पार्टीले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीलाई पठाउने भएको छ ।
सम्बन्धित क्षेत्रको विज्ञताको कारणले उनीहरू प्राथमिकतामा परेका हुन् । पार्टीले विज्ञताका आधारमा मन्त्री बनाउने यसअघि निर्णय लिइसकेको छ ।
खनाल शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी टिच फर नेपालका संस्थापक हुन् । २०१९ मा युवा सीइओको अवार्ड पाएका उनले अमेरिकाबाट राजनीतिकमा अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेका छन् । खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन्
रास्वपाले श्रम मन्त्रालयमा पठाउन लागेका अर्याल पनि वैदेशिक रोजगारको क्षेत्रका अनुभवी हुन् । रेमिट्यान्स व्यवसायीसमेत रहेका अर्यालले जापानमा रहेर वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेका थिए । उनी पार्टीका उपसभापतिसमेत छन् । अर्याल भने समानुपातिक सांसद हुन् ।
रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । स्वास्थ्यमन्त्री भने एमालेको भागमा परेको छ । कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।
उपसभामुखमा सोभिताको सम्भावना
रास्वपाले उपसभामुख पनि पाउने सहमति छ । त्यसमा सोविता गौतमको बलियो सम्भावना छ । यदि एमालेले पुरुष नेतालाई सभामुख बनाएको खण्डमा सोविता उपसभामुख बन्न सक्नेछिन् । तर, एमालेले सभामुख महिला बनाएमा रास्वपाले पुरुष नेतालाई उपसभामुख बनाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्