चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने देखिएको छ । निर्माण सकिएका ५ वटा पुल सञ्चालनमा आएका छन् ।
आउँदो असारसम्ममा १० वटा पुलको निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।
१० चैत २०७६ मा ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । सम्झौताको अवधि ९ पुसमा सकिँदै छ । प्रमुख कार्कीले कोभिड–१९ का कारण समयमा काम नसकिएको जनाउँदै काम सक्न अझै १ वर्ष लाग्ने बताए । घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउँछन् ।
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । ४ वटा पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले ५ पुसदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ । सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिक रूपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको कार्कीको भनाइ छ ।
कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ । जसका लागि १ करोड रुपैयाँ बजेट माग गरिएकामा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ ।
असारसम्ममा १३ वटा पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउँछन् । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुनेछ ।
तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । यो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक ९ देखि ११ मिटर फराकिलो छ ।
ती पुललाई २ भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी ७ वटा पुल छन् भने प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी ८ पुल छन् ।
दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ ७ दशमलव ५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १ दशमलव ५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्ट्याइएको छ ।




















