पोखरा – पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो ।
महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि गर्न/गराउन सम्बन्धित घरधनी र व्यवसायीहरुलाई सार्वजनिक रुपमा पटक–पटक आग्रह गर्दा पनि अटेर गरी प्रयोजन विपरीतका सञ्चालनमा रहेका भूमिगत पार्किङहरु मंगलबारदेखि महानगर आफंैले खाली गर्ने व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’
पोखरा न्युरोड क्षेत्रबाट अन्डरग्राउन्डमा प्रयोजन विपरीत बनेका संरचना हटाइने र अटेरी गरे डोजर चलाएर भए पनि खाली गरिने महानगरले जनाएको छ । ‘धेरैजसोले आफैं हटाइसकेका छन् । नहटाएका ठाउँमा आजदेखि डोजर चल्छ,’ मेयर धनराज आचार्यका प्रेस संयोजक भीम थापाले भने ।
पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न अनुरोध गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।
तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो ।अनुगमनका क्रममा मेयर आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनीसमेत दिएका थिए ।
पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये अहिले आधाभन्दा बढीले महानगरको सूचना पछि आफैं अन्डरग्राउन्डमा बनेका संरचना हटाइसकेका छन् । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।
भवन आचारसंहिताले पनि भवनको भूमिगत तलालाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यता, पोखरा महानगरले पनि अन्डरग्राउन्डलाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्न राजश्व छुटको समेत व्यवस्था गरेको छ । तर, घरधनीले भने महानगरदेखि अन्डरग्राउन्डको राजश्व छुट लिएर प्रयोजनविपरीत व्यापारका लागि भाडामा दिएका छन् ।


विश्व खबर 




















