images
images
  • आरजुलाई हराउन स्वतन्त्र उठ्दै पुष्कर ओझा

    धनगढी- प्रधानमन्त्री पत्नी आरजु देउवा आसन्न प्रतिनिधिसभा चुनावमा कैलाली– ५ मा उम्मेदवारी दिन चाहन्छिन्, पुष्करनाथको साथ नभए चुनाव जित्न सहज छैन । आरजु देउवालाई हराउन मुख्य चुनौतीका रूपमा रहेका पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने आन्तरिक तयारी गरिरहेका छन् ।

    २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई हराउन भुमिका खेलेको आरोपमा नेपाली काग्रेंसले नेता पुस्करनाथ ओझालाई कार्वाही गरेको थियो । प्रधानमन्त्री शेर बहादूर देउवा बाहेक कैलाली क्षेत्र नम्बर ५ मा अरुलाई नस्वीकार्ने ओझा यस पटक के गर्लान भन्ने चासोको बिषय छ ।

    अघिल्लो निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै दुई वर्षअघि काँग्रेस केन्द्रीय समितिले ओझालाई पार्टीबाट निष्कासित गरेको थियो । ५ वर्षका लागि निष्कासनमा परेका ओझामाथिको कारबाही अझै फुकुवा भएको छैन ।

    २०७० सालमा भएको उपनिर्वाचनमा बिजयी ओझा २०७४ सालमापनि टिकटका लागी निकै दौडधुपमा थिए । तर देउवा पत्नी आरजुका अगाडी उनको केही नचलेपछि उनले टिकट पाएनन् । र कैलाली ५ का लागी आरजुलेनै टिकट पाइन् । र बाम गठबन्धनका उमेद्वार एमाले नेता नारदमुनी रानासंग आरजु पराजित भइन् । सो निर्वाचनमा ओझा मौन देखिए त्यसै कारण उनलाई आरजु हराउन भुमिका खेलेको आरोप लागेको थियो ।

    परिणाम स्वरूप अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । कैलालीका कांग्रेस नेता कार्यकर्ता पुष्करनाथलाई नमिलाई चुनाव जित्न पनि सहज छैन भन्छन्।

    कांग्रेस नेताहरुले पुष्करनाथसँग सम्वाद गर्न केही समयअघि खोजेका पनि थिए । पुष्करनाथलाई कैलाली ४ बाट प्रतिनिधिसभा चुनाव लड्ने, समानुपातिकतर्फ बस्ने, प्रदेश सभामा जाने वा केन्द्रीय सदस्य हुने सबै विकल्पमा बालुवाटार तयार भए पनि पुष्करनाथ कुनै विकल्प मान्न तयार छैनन् ।

    कांग्रेस सत्तारुढ दलहरुसँग गठबन्धनको प्रयासमा छ, तर स्थानीय चुनावले नै कैलालीमा यो पनि असफल देखाएको छ । तालमेल गरेर लड्दा लम्कीचुहामा कांग्रेसले मेयर जित्यो, तर माओवादी केन्द्रले उपमेयर गुमायो । टीकापुर, मोहनन्याय लगायतका पालिकामा पनि यस्तै भयो ।

    आरजु कैलाली ५ नछाड्ने, पुष्करनाथले समर्थन नगर्ने अवस्था कायम राखिराख्दा चुनावी परिणाममै असर गर्ने भएपछि कांग्रेस, कैलालीका नेताहरु अप्ठेरोमा परेका छन् । मंगलबार कैलाली जिल्ला कमिटीका सचिव नृपबहादुर सुनारले पुष्करनाथलाई फोन गरे र बुधबार विहान कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमेयर नृप वड, प्रदेश सरकारका मन्त्री टेकबहादुर रोका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरीका मेयर वीरेन्द्र भट्ट लगायतका नेताहरु भेट्न पुगे । कांग्रेसका जिल्लानेताहरूले आसन्न चुनावमा पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए । पुष्करनाथले दलीय व्यवस्था हुनुपर्छ भनेर कांग्रेसमा लागेको र कांग्रेस आफ्नो घर भएकाले त्यहीबाट चुनाव लड्न चाहेको बताए ।उनले भेट्न आएका कांग्रेसका नेताहरूसँग यो पालि पनि चुनाव लडिनँ भने चुनावको राजनीति गर्दिनँ भनिदिए ।

    स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कैलाली-५ मा कांग्रेस पहिलो दल हो । उसको २२ हजार बढी मत छ । एमालेको १७ हजार र माओवादी केन्द्रको ८ हजारबढी मत छ भने एकीकृत समाजवादीसँग २ हजार मत छ । पाँचदलीय गठबन्धन कायम रहने भने हो आरजुको पक्षमा ३२ हजार मत हुनसक्छ ।

    कांग्रेस नेताहरुका अनुसार पुष्करनाथसँग अहिले पनि ५र७ हजार मत छ । २६ हजार ८६५ मत पाएर धनगढी उपमहानगरको मेयर चुजिएका हमालको पनि व्यक्तिगत भोट राम्रै छ ।आसन्न प्रतिनिधिसभा चुनावमा पुष्करनाथ स्वतन्त्र उम्मेदवार बने मेयर गोपाल हमालले उनलाई नै साथ दिने सम्भावना छ । मेयर हमालले भने यसबारे अहिलेसम्म केही बोलेका छैनन् । त्यस बेला एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्।  एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।

    उनको पहिलो प्राथमिकता काँग्रेसले आफूमाथिको कारबाही फुकुवा गरी टिकट देओस् भन्ने छ । तर टिकट नदिए उनि स्वतन्त्र निर्वाचन लड्ने छन् । ‘पुष्कर ओझा बहुदलीय व्यवस्थाका लागि लडेका व्यक्ति हुन् । उनको प्राथमिकता राजनैतिक दल त्यसमा पनि नेपाली काँग्रेसबाट नै चुनाव लडौँ भन्ने छ,’ ओझा निकट नेता तथा पूर्व जिल्ला सचिव पूर्ण कुँवरले भने, ‘यदि काँग्रेसले टिकट नदिएमा स्वतन्त्र रूपमा चुनाव लड्नुहुन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images