विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाएका छन् । विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिनुभएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेको छ ।
प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेको हो । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उहाँको नाममा २८ हजार ७१९ वर्गमिटर (८५ कठ्ठ) जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन ।
प्रमुख कोइरालाको एकाघरको सम्पति भने त्यो भन्दा धेरै छ । तर उनले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएको हो । महानगर प्रमुख कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठका अनुसार कोइरालाले श्रीमती र आमाको नाममा भएको जग्गा र सम्पत्ति विवरणमा समावेश गरेको छैन । ‘उनले आमा, श्रीमती र परिवारका अरु सदस्यको नाममा भएको सम्पत्ति विवरण बुझाएको होइन,’ श्रेष्ठले भने ‘यो नितान्त उहाँको व्यक्तिगत नाममा भएको सम्पत्तिको विवरण मात्र हो ।’
कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उनले ८ लाख रुपैयाँमा ८० तोला सुन खरिद गरेको कैफियतमा जनाएको छ । उनको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र उक्त नगद पनि पैत्रिक सम्पतिबाटै प्राप्त भएको भनिएको छ ।
उनले सम्पति विवरणमा विराटनगरमा भएका घरहरुको विवरण बारे उल्लेख गरेएको छैन । उहाँको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको विवरणमा उल्लेख छ ।


विश्व खबर 




















