काठमाडौं- कैलालीको एक यस्तो पालिका जहाँ काम गर्न कर्मचारी जानै मान्दैनन् । जहाँ वडासचिव नै छैनन्। त्यो पालिका हो, कैलालीको मोहन्याल गाउँपालिका।
मोहन्याल गाउँपालिका वडा नम्बर १ को स्वास्थ्य शाखामा कार्यरत लोकेन्द्र धामी अहेव छन्। स्वास्थ्य क्षेत्रका कर्मचारी धामीको भूमिका अहिले त्यति मात्रै छैन । उनले त्यहाँ वडा सचिवको जिम्मेवारी पनि सम्हालीरहेका छन् ।
गाउँपालिकामा आएको ३३ महिनादेखि उनले दोहोरो भूमिका निर्वाह गरिरहेका छन् । उनले अहिले बाध्यताले सचिवको काम पनि सिकेका छन् । उनी भन्छन्, म स्वास्थ्य क्षेत्रको कर्मचारी हुँ’, ‘यहाँ वडामा सचिव नहुँदा त्यो काम पनि मैले गरिरहेको छु, बाध्यताले नयाँ काम पनि सिकियो भन्नुपर्यो ।’जिम्मेवारी भन्दा बाहिरको काम गर्दा सुरुमा केही अप्ठेरो भएको उनले भने। अहिले काम त गरिन्छ तर आफ्नो प्रमुख जिम्मेवारी स्वास्थ्य क्षेत्रलाई बढी ध्यान दिनुपर्छ । यसले दुबैतिर बाधा भने भैरहेको छ ’ गाउँपालिकामा कर्मचारी अभावकै कारण भएका कर्मचारीले सबै जिम्मेवारीमा रहेर काम गर्नुपर्ने बाध्यता रहेको उनले भने ।
वडा नम्बर २ मा पनि सचिवको जिम्मेवारी हेरिरहेका स्वास्थ्य शाखाका अहेव प्रभु बरालले दोहोरो भूमिका आफ्नो लागि टाउको दुखाई भएको बताए । उनले पनि साढे दुई वर्षदेखि सचिवको काम पनि सम्हालीरहेका छन् । उनले भने, अहिले असार मसान्तमा त झन भाइनभ्याइ भएको छ’, ‘यही बेला स्वास्थ्य क्षेत्रमा पनि बढी ध्यान दिनुपर्छ,’ उनले कर्मचारी अभावमा सचिवको जिम्मेवारी पनि बाध्यताले आफूले लिनुपरेको बताए। यद्यपि उनले आफ्नो स्वास्थ्य क्षेत्रलाई नै बढी ध्यान दिने गरेको बताए ।
गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल साउँदले कर्मचारी अभावले काम गर्न निकै गाह्रो भैरहेको बताए ।मोहन्याल कैलालीको सबैभन्दा विकट र पहाडी पालिका भएकाले कर्मचारी पनि आउन मानिरहेका छैनन्, ‘वडामा सचिवको काममा स्वास्थ्य शाखाका कर्मचारीलाई खटाउनुपर्ने बाध्यता छ, उनले भने।उनले ७ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर ३ मा मात्रै वडा सचिव रहेको बताए। बाँकी ६ वटा वडामा सचिवको काम स्वास्थ्य शाखाका कर्मचारीले गरिरहेका उनले भने।
कार्यबाहक अध्यक्ष साउँदले यसरी स्वास्थ्य शाखाका कर्मचारीले सचिवको काम गर्दा स्वास्थ्यतर्फ असर पुगिरहेको बताए । ‘हामीले स्वास्थ्यका कर्मचारीलाई सचिवको काममा लगाए पनि उनीहरू आफ्नो क्षेत्रको काममा बाहिर जाँदा नजाउ पनि भन्न सकिन्न उनी भन्छन्, ‘किनकि उनीहरूको प्रमुख काम त्यही क्षेत्र हो र त्यहीँबाट स्तरोन्नति हुनेछन् ।’ असार मसान्तमा अहिले काम गर्न झन समस्या भइरहेको उनले भने ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना नगरेसम्म कर्मचारीको समस्या भैरहने बताए ।
‘मोहन्यालमा कर्मचारी अभावमा थुप्रै काम गर्न सकिएको छैन् । ‘संघीय र प्रदेश लोकसेवा आयोगले कर्मचारी पूर्ति गर्नुपर्ने उनले सुझाब दिए। विकट क्षेत्र भएकाले पनि केही कर्मचारी मोहन्याल आउन नमान्ने गरेको उनको भनाई छ । कर्मचारी अभावमा काम गर्न नसक्दा जनताका समस्या समाधान गर्न कठिनाई हुने गरेको उनले भनेका छन् ।


विश्व खबर 




















