images
images
  • जिससमा चुनाव: मेयर हमालले दिए सत्तारुढ गठबन्धनलाई साथ

    कैलाली- कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

    समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

    १३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

    मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

    यस्तै सदस्यहरुमा माओवादीबाट दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द विजयी भए ।

    खुल्लातर्फ एमालेका मानबहादुर साउद र तेजबहादुरको समान १२ मत आएको थियो । गोलाप्रथा गर्दा तेजबहादुर विजयी भएका हुन् ।

    नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान १२ मत आए पनि गोलाप्रथामा सरिता विजयी भएकी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images