काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका छन्।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग बुधबार कुरा गर्दै कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए।
सभापतिका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए।
महामन्त्री कोइरालाले गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए। ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,’ उनले भने।
आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि कोइराला बन्धुको समझदारीका बारेमा शशांक कोइरालासँग गरेको कुराकानी :
शशांक दाजुभाइबीच सहमति भएको र तोडिएको सुनियो, खासमा के भएको हो ?
सहमति गराउनुपर्छ । सहमति भएन भने शेरबहादुरजीलाई हराउन सकिन्न । सहमति गराउने दिशामा म लागिरहेको छु । त्यसै सिलसिलामा मंगलबार शेखर दाको घरमा छलफल भएको हो । अहिले छलफलमै छौं ।
सभापतिमा तपाईंले आफ्नो दाबी छाडेको भनेर बाहिर आएको छ नि ?
मैले सभापतिको दाबी छाडिसकेको छैन । सभापतिका लागि अरूभन्दा बलियो म नै छु भन्दै आएको छु । भोलि परिस्थिति के हुन्छ भन्न सकिन्न । तर अहिले शेखर दालाई छाडिसकेको छैन ।
तपाईंले आफूलाई कसरी बलियो उम्मेदवार ठान्नुभएको छ ?
म उम्मेदवार भएँ भने शेरबहादुरजीतिर भएका धेरै नेता मेरो टिममा आउँछन् । त्यसैले पनि म अरू तीन जना –(रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला) भन्दा बलियो छु ।
बिहान पत्रकार सम्मेलनमार्फत दाइ शेखरलाई तपाईंले सभापतिमा प्रस्ताव गर्ने भनेर तयारी भइरहेको थियो त ?
त्यस्तो होइन । पत्रकारहरूलाई मैले बोलाएको थिइनँ । शेखर दाले खबर गरेको भए थाहा भएन ।
तपाईं अचानक संखुवासभा किन जानुभयो ?
सभापति दीपक खड्काले कार्यकर्ता भेटघाट भनेर बोलाउनुभयो । म गएँ । अरू केही कारण होइन ।
तपाईंहरू एक हुन सक्नुहुन्छ त ?
अन्तिममा को–को हुन्छ भन्न सकिन्नँ । मिल्न सजिलो बाटो पनि छैन । रामचन्द्र दाइ, प्रकाशमानजी सबै लागिरहनुभएको छ । तर, नमिलीकन सुख छैन । मैले एक हुने सम्भावना अझै देखिरहेको छु ।


विश्व खबर 



















