खोटाङ- चाडवाडको मौका पारेर खोटाङमा यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल गर्ने यातायात व्यवसायीबाट भाडा फिर्ता गराइएको छ । जिल्लाको ऐसेलुखर्क र बाक्सिलाबाट काठमाडौं जाने क्रममा ना१ज ६२११ र ना१ज ६४६० नम्बरको टाटासुमो गाडीले तोकिएभन्दा जनही २५० रुपैयाँ बढी भाडा लिएको पाइएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीको टोलीले भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराएको हो ।
बाक्सिला र ऐसेलुखर्कबाट काठमाडौं जानेक्रममा जनही दुई हजार भाडा लिनुपर्नेमा जनही दुई हजार २५० रुपैयाँ भाडा उठाइएको पाइएपछि तोकिएभन्दा बढी लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
ऐसेलुखर्कबाट काठमाडौंका लागि छुटेको टाटासुमोले १० जना र बाक्सिलाबाट छुटेको टाटासुमोले ९ यात्रु बोकेको प्रहरीले जनाएको छ । एउटा टाटासुमोलाई नुनथला र अर्को टाटासुमोलाई अर्खौले चेकपोस्टमा रोकेर बढी लिइएको भाडा यात्रुलाई फिर्ता गराइएको डिएसपी लम्सालले बताए ।
चाडपर्वको समयमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाइएका चार वटा बस, एक वटा ट्याक्टर, १७ वटा मोटरसाइकल, पाँच वटा टाटासुमोलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक जरिवाना गराएको प्रहरीले जनाएको छ ।
खोटाङ- जनता समाजवादी पार्टी खोटाङले लोकल रक्सी नष्ट गर्ने कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । गत १५ कात्तिकमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसीमा लोकल मदिरा (रक्सी) नष्ट गरिएको घट्नाप्रति विरोध जनाउँदै आएको जनता समाजवादी पार्टीले मंगलबार प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाललाई भेटगरी आगामी दिनमा सामाजिक सद्भाव बिगार्ने र कसैको संस्कृतिमाथि आँच आउने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको हो ।
जनता समाजवादी पार्टीको मंगलबार बसेको बैठकले हलेसीमा लोकल रक्सी नष्ट गरिएको घटना सिंगो आदिवासी समुदायमाथिको सांस्कृतिक हमला भएको र गरिब जनतामारा कार्य भएको निष्कर्ष निकाले लगत्तै प्रशासन पुगेर ध्यानाकर्षण गराइएको जनता समाजवादीका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन खम्बुले जानकारी दिए । माझ किरात त्यसमा पनि किरात समुदायको उद्गम थलो मानिएको ‘तुवाचुङ’ रहेको स्थानमा लोकल रक्सी नष्ट गरिएको घट्नाप्रति जनता समाजवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनता समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का सचिव सूर्य राई, केन्द्रीय सदस्य देवराज राई, संघीय परिषद् सदस्य कर्ण कार्की, प्रदेश समिति सदस्य नवीन राई, जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मणि राईलगायतको टोलीले हलेसीमा नियोजित रूपमा लोकल रक्सी नष्ट गरिएको दाबी गरेको छ ।
संविधानमा सबै समुदायको धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने व्यवस्था भए पनि केही कानुनी जटिलताहरू भएको उल्लेख गर्दै प्रजिअ दाहालले व्यवहारिक रूपमा बुझ्ने र यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख खम्बुले जानकारी दिए । दाहालले विशेषगरी सांस्कृतिक र सामाजिक रूपमा नबाझिने ऐन कानुन बनाउनमा ध्यान दिन जनता समाजवादीका नेतालाई आग्रह गरेका छन् ।
प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री एवं एमाले नेतृ उषाकला राईको अवधारणा अनुसार ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अभियान सुरु भइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरेको थियो ।


विश्व खबर 




















