images
images
  • सनम हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेका गोरेसहित छ जनालाई जन्मकैदको फैसला

    विराटनगर- जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।

    जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

    उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकिएको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एकजनालाई तीन वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार ‘गोरे’सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । यो फैसलासँगै उनीहरूले २० वर्ष जेल बस्नुपर्ने भएको छ ।

    अपहरण तथा शरीर बन्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सजाय निर्धारणका लागि पुनः पेस गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । मुद्दामा दोषी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् ।

    मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो ।

    संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ ।

    ९ माघ ०७४ मा ‘गोरे’को समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा ०७४ मा मोरङ उर्लाबारी नगरपालिका(१ का सनमको करेन्ट लगाएर यातना दिँदै हत्या गरेको आरोप छ ।

    हत्याको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा१२च ५९६३ नम्बरको स्कार्पियो र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । त्यो घटनाको अनुशन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो । तर तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरूले मुद्दामा सफाइ पाएको बताइएको छ ।

    जिल्ला अदालत मोरङमा १९ वैशाख ०७५ मा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख (९ हजार पाँच सय ६३ ग्राम ९करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरेको थियो । त्यही बराबरको बिगो मागदावीसहितको मुद्दा दर्ता भएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images