images
images
  • बडा दशैँ : देवी दुर्गाको मूर्ति बनाउन व्यस्त कारिगर, व्यवसायी भन्छन्,’आफू स्वरोजगार हुँदै रोजगारी पनि सिर्जना गरेका छौं।’

    नेपालगञ्ज- हिन्दु समुदायको महान पर्व बडादशैँ नजिकिँदै गर्दा नेपालगञ्जमा दुर्गाको मूर्ति निर्माणमा मूर्तिकारलाई भ्याई नभ्याई छ । बडा दशैंमा देबी दुर्गाको मूर्ति विभिन्न स्थानमा राखेर पूजाआजा गर्ने चलन भएकोले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डर अनुसारको मूर्ति बनाउन नेपालगञ्ज– ८ का छोटु केवटलाई भ्याई नभ्याई छ । उनी दशैं नजिकिएसँगै दुर्गा लगायतका मूर्ति बनाउनमा व्यस्त छन् ।

    IMG 1065

    दशैँ आउन लगभग हप्ता बाँकी रहँदा उनले अहिले ९ वटा मूर्ति तयार गरिसकेका छन् भने २ वटा बनाउने तयारीमा लागेका छन् । अहिले उनसँगै ४ जना कामदारले मूर्ति निर्माण गरिरहेका छन् । ११ वर्षको कलिलो उमेरमा मूर्ति बनाउने काम सिक्न उनी भारत पसेका थिए । ७ वर्षसम्म ज्यालामा काम गरेका उनले अहिले आफ्नै ठाउँमा मूर्ति बनाउने काम सुरु गरेका छन् । अहिले उनले अरु तीन जनालाई पनि रोजगारी दिएका छन् । उनले बनाएका मूर्ति २५ हजारदेखि ३० हजारसम्ममा बिक्री गर्ने गरेका छन् ।

    ‘दशैं नजिकिएसँगै केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्री गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘आफूले जानेको सीप अरुलाई पनि सिकाउने गरेको छु ।’ पहिला बडादशैँ सुरु हुनुअघि भारतबाट मूर्तिकार नेपालगञ्जमा आउने र अर्डरअनुसारको मूर्ति तयार गरी फर्कने गर्थे । तर, अहिले भने नेपालगञ्जमै स्थानीय मूर्तिकारले देवीको मूर्ती बनाउने गरेको नेपालगञ्ज त्रिभुवन चोकका दिपक लखेर बताउँछन् ।

    सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । यो काम सिजनल भएकाले अन्य समयमा खाली बस्ने गरेको उनी बताउँछन् । मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरीद गरि ल्याउनुपर्ने र मूर्ति बनाउन चाहिने माटो जहाँ त्यहीं नपाइने भएकाले समस्या हुने गरेको पनि मूर्तिकार केवट बताउँछन् ।

    IMG 1080

    स्थानीय तहले आफू अथवा आफूजस्ता मूर्ति बनाउने व्यावसायीका लागि कुनै पहल नगरिदिएको उनको गुनासो छ । उनले भने, ‘हामीले आफ्नै घरमा बसेर मूर्ति बनाउदा स्वरोजगार हुँदै रोजगारी पनि सिर्जना गरेका छौं । हामीलाई आवश्यक पर्ने चेम्टिलो र लेसाइलो माटो, पराल, काठको जोहो गर्न कठिन हुने गरेको छ । त्यो उपलब्ध गराउन स्थानीय तहले समन्वय गरिदिए अझ राम्रो हुने थियो ।’

    बडा दशैँमा मात्र बाँकेमा करिब १ हजारको हाराहारीमा देवी दुर्गाको मूर्ति स्थापना गरिने अनुमान छ । केही वर्षअघि भारतबाट मूर्ति र कारिगर आफैं आएर बनाउने गर्दथे भने अहिले नेपाली मूर्तिकारले बनाउने गरेका छन् ।

    IMG 1093

    नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले यस्ता मूर्ति बनाउने व्यवसायीलाई सूचीकृत गर्ने र तथ्यांक संकलन गर्नेजस्ता काम गर्न नसकेको बताइन् । उनले यसको लागि अहिलेसम्म कुनै खालको माग नआएको र उपमहानगरपालिकाले त्यसतर्फ अहिलेसम्म कार्यविधि तथा योजना नबनाएको जानकारी दिइन् ।

    वर्षमा एकपटक अर्थात चाडपर्वको बेला मात्र बनाउने भएकाले त्यस्ता व्यवसायीलाई मूर्ति बनाउन बेच्न छुट भएको र त्यस बापतको कुनै राजश्व नलिएको तर, आगामी दिनमा यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने हो भने नगरपालिकाले यस विषयमा सोच्न जरुरी रहेको उप प्रमुख थापाको भनाइ छ ।

    नेपालगञ्जमै मूर्ति निर्माण हुनाले भारतबाट खरीद गर्नुपर्ने अवस्थामा केही हदसम्म कमी आएको ग्राहकहरु बताउँछन् । यति मात्र होइन, यसो हुनाले नेपाली रुपैयाँ भारत जानबाट पनि रोकिएको स्थानीय बताउँछन् ।

    घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ति दशैंको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ । नेपालगञ्जका प्रत्येक चोकमा दूर्गाको मूर्ति स्थापना गरि पूजा गर्ने चलन पहिलेदेखि नै चलिआएको छ ।

    IMG 1076

    प्रतिक्रिया दिनुहोस्
    images
    images