images
images
  • लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क

    तेह्रथुम-प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यतिमात्र नभई कसैसँग झैं-झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा छ ।

    लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका हुन् । लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बुको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।

    लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका नगर प्रमुख अर्जुन माबोहाङले बताए । उनले भने, ‘लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ ।’

    लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो ।

    IMG 0045

    आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुंगाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्त्वपूर्ण रहेको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेशकुमार सेनेहाङले बताए । ‘यस ठाउँमा एकपटक आउने जो कोहीले लिम्बु जातिको पूर्वजले चलाई ल्याएको संस्कार र रीतिलाई नजिकबाट बुझ्नेछन,’ उनले भने ।

    यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि छ । लिम्बुहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्छन् । आदिमकालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ । नजिकै ढुंगाको तराजु पनि राखिएको छ ।

    मानव सभ्यता सुरु भएपछि बिहेबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा प्रचलित छ । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बु मुन्धुमविद्हरुको भनाइ छ ।

    IMG 0037

    पार्कमा (सिङपक्वा च्वात् लुङपक्वा च्वात्) प्राकृतिक रुपमा रहेको ढुङगा र रुपमा रहेको पवित्र पानी जुन पानीले अपवित्र काम गरेको भएपनि चोखाएर पवित्र हुने लिम्बु समुदायमा मान्यता रहँदै आएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टीको भागमा लिम्बु जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ ।

    आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे (गाउँ) मा आठवटा परम्परागत घर धमाधम निर्माण भइरहेका छन् । यहाँ मौलिक तथा ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

    लिम्बु जातिको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यसाथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्य हुँदै आएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए । ‘यो पार्कमा प्रायः दैनिकजसो कुनै न कुनै काम भइरहेको हुन्छ,’ उनले भने ।

    लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन् । यसले लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले स्थानीय उत्पादन गर्ने लक्ष्य राखिएको नगर प्रमुख माबोहाङले बताए ।

    IMG 0083 IMG 0077 IMG 0076 IMG 0074 IMG 0072 IMG 0071 IMG 0066 IMG 0064 IMG 0055 IMG 0054 IMG 0053 IMG 0050 IMG 0047 IMG 0045 IMG 0042 IMG 0037 IMG 0031 IMG 0029

    प्रतिक्रिया दिनुहोस्
    images
    images