images
images
  • कांग्रेस बाजुराको पालिका अधिवेशनमा उम्मेदवारका आकांक्षी बढ्दै

    बाजुरा – नेपाली कांग्रेस बाजुराको पालिका अधिवेशन आजबाट सञ्चालन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार वडा अधिवेशन सम्पन्न भएको ठाउँमा आजबाट पालिका अधिवेशन सञ्चालन भएको हो ।

    नौवटा स्थानीय तह रहेको बाजुराका ६९ वडामा वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन सुरु भएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । चार वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको बाजुरामा सबै वडामा सर्वसम्मत वडाअधिवेशन सम्पन्न भएको नेताहरूले बताएका छन् । नेपाली कांग्रेस बाजुरामा पालिका स्तरीय अधिवेशनको निकै चहल पहल बढ्नुका साथै आकांक्षी पनि बढेका छन् ।

    नेतृत्व तहमा युवाको आकर्षण बढिरहेको छ । बाजुराका अधिकांश वडामा युवा नेतृत्व लिन सफल भएका छन् । कांग्रेस बाजुराले पनि युवा अवसर प्रदान गरिएको छ । क्रियाशील विवाद हुँदा ढिलो गरी सुरु भएको वडा अधिवेशन शुक्रबार सम्पन्न भए पश्चात् शनिबारदेखि पालिका अधिवेशनको रौनक बढेको छ ।

    नौवटा स्थानीय तह रहेको बाजुरामा स्वामिकार्तिक बाहेक अरू पालिकामा अधिवेशन सुरु भएको जनाइएको छ । दुर्गम बाजुराको हिमाली गाउँपालिकामा एक जना सभापतिका लागि ५ जनाले उम्मेदवारी दिएको नेपाली कांग्रेस हिमालीका युवा नेता तथा वडा नम्बर ४ का वडाध्यक्ष रमेश विकले जानकारी दिए ।

    पालिका सभापतिका लागि उम्मेदवारी दिनेमा भीमानन्द पाण्डेय, जोखबहादुर भण्डारी, अम्मलाल कार्की, सुरेन्द्रबहादुर मल्ल र पूर्णलाल पाण्डेय रहेका छन् । उम्मेदवारी दिएका मध्ये कार्की र मल्ल वर्तमान वडाध्यक्ष हुन भने भण्डारी २०७४ मा वडाध्यक्षका प्रत्याशी हुन् । अधिवेशन सञ्चालन नहुँदा पनि स्वामिकार्तिकमा उम्मेदवारको भने टुंगो नलागेको नेता पूर्णबहादुर कैलाले जानकारी दिए । बाजुरामा आजबाट पालिका अधिवेशन सञ्चालन गर्ने भनिए पनि स्वामिकार्तिकमा भोलिबाट सञ्चालन हुने उनले बताए ।

    हालसम्म पालिका सभापतिका लागि आफू र महेश कट्टेल गरी दुई जनाको उम्मेदवार रहेको कैलाले जानकारी दिए । लामो समयदेखि पार्टीमा आबद्ध रहेका कैला पालिका सभापति बन्ने दाउमा छन् भने प्रहरी संगठनबाट राजीनामा दिएर सक्रिय राजनीतिमा आएका कट्टेल पनि सभापतिकै दाउ पेचमा छन् । सभापतिका लागि दुवै जनाबीच प्रतिस्प्रधा हुने देखिएको छ ।

    यस्तै जगन्नाथमा पनि सुन्दर विष्ट, कपुरराज गिरी, तिलक विष्ट र खड्कमल धराला गरी सात जना आकांक्षी रहेका नेता जयबहादुर रोकायाले जानकारी दिए । यस्तै वुढीनन्दा नगरपालिकामा पनि मानबहादुर खड्का, अशोक दानीलगायत नेताहरू उम्मेदवार देखिएका छन् । अन्य ठाउँमा फोन नलागेका कारण विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images