images
images
  • समाजवादी रोज्ने बाजुरामा ५ जना मात्रै, केन्द्रीय नेताकै वडाका जनप्रतिनिधीले एमाले छोडेनन्

    बाजुरा – जिल्लामा ५ जना जनप्रतिनिधीले मात्र नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । समाजवादीका नेताहरुले ठूलो संख्यामा जनप्रतिनिधीलाई सनाखत गराउने बताएपनि समय सीमाभित्र ५ जनाले मात्र सनाखत गरेका हुन् । सनाखतका लागि निर्वाचन आयोगले तोकेको भदौ २२ गते बेलुका पाँच बजेसम्मको समयमा पाँच जनाले मात्र सनाखत गरेको े जिल्ला निर्वाचन अधिकारी राजेश भट्टाराईले बताएका छन् । पाँच जनाले भदौ २१ गते नै एकसाथ सनाखत गरेका थिए ।

    सनाखत गर्नेमा स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, बुढीनन्दा नगरपालिका ९ का वडा अध्यक्ष खडक बोहरा, बुढीगंगा ९ का वडा अध्यक्ष भरत थापा र वडा सदस्य बुदी नेपाली रहेका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ३२ वटा वडा, तीन वटा अध्यक्ष उपाध्यक्ष सहीत गाउँपालिका र १ वटा नगरपालिकाको उपप्रमुख जितेको थियो । केन्द्रीय नेताहरु र संघ र प्रदेशका सांसद नेकपा एमालेमै रहेपछि स्थानीय तहका जनप्रतिनिधीले पनि एमाले नछाड्ने निर्णय लिएका हुन् ।

    जनप्रतिनिधीको संख्या हेर्दा बाजुरामा एकीकृत समाजवादीको न्यून प्रभाव मात्र परेको छ । तीन वटा स्थानीय तह जितेकोमा एक वटा समाजवादीमा आएकोले त्यसलाई न्यून प्रभाव भन्न नहुने समाजवादीका नेताहरुको दाबी छ । तीन तह मध्ये एक तहका अध्यक्ष उपाध्यक्ष हामीसँग हुनु भनेको ३३ प्रतिशत समाजवादीमा खुल्नु भएकोले यसमा कम बढीको कुरा नहुने पार्टीका केन्द्रीय सदस्य हिक्मत शाहीको तर्क छ । जिल्लाको विस्तारित बैठक पछिको पत्रकार सम्मेलनमा नेता शाहीले संख्या कस्को कति भनेर जोड घटाउन गर्न जरुरी नै छैन् । समाजवादको यात्रामा सबै जोडिनु पर्ने भएकोले ढिलो भएपनि सबैको रोजाइ अन्ततः एकीकृत समाजवादी पार्टी नै हुने शाहीको भनाई छ ।

    सनाखत गर्ने जनप्रतिनिधीको संख्याको विषयलाई लिएर पार्टीका केन्द्रीय नेता तथा युवा संघका अध्यक्ष नरेश कुमार शाहीले माछा बढी भएर मात्र नहुने र फूल पार्ने माछा साथमा भए पुग्ने तर्फ गरेका छन् । समाजवादको आन्दोलन किसान मजदुर सर्वाहाराको हितमा भएकोले जोड घटाउनमा अल्झिरहन जरुरी नहुने शाहीको भनाई छ । उसोत तत्कालिन नेकपा एमालेको जिल्ला कमिटीमा रहेका ५६ जना मध्ये समाजवादीमा कति जना देखिए भन्नेमा जिल्ला अध्यक्ष गगन रावलले एकीन संख्या नै उल्लेख नगरि बलियो संख्या आफूहरुसँग रहेको बताएका छन् । तत्कालिन जिल्ला कमिटीबाट पनि आधा दर्जन सदस्यले पनि समाजवादीलाई साथ नदिएको पाईएको छ ।

    शिर्ष नेताकै वडाका जनप्रतिनिधीले साथ दिएनन्

    नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला स्थित शिर्ष नेताहरुकै वडाका जनप्रतिनिधीले साथ नदिएको पाईएको छ । समाजवादी पार्टीमा केन्द्र देखि जिल्लासम्मको नेतृत्व पाएका नेताहरुले वडाबाटै धोका पाएका छन् । विभाजनको पक्षमा नलाग्ने र सूर्य छोड्न नसकिने जनप्रतिनिधीको तर्फ सामु नेताहरुको जबरजस्ती अर्थहीन बनेको छ । पार्टी केन्द्रीय सदस्यको जिम्मा पाएका हिक्मत शाही र युवा संघको केन्द्रीय अध्यक्ष रहेका नरेश कुमार शाही, जिल्ला सहसचिव नीरबहादुर शाहीको गृह गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले साथ दिएपनि वडा अध्यक्ष सहीत जनप्रतिनिधीले साथ छोडेका छन् ।

    स्वामिकात्र्तिक खापर गाउँपालिकामा ५ वटा वडा छन् । ती मध्ये अध्यक्ष उपाध्यक्ष सहीत ३ वटा वडा एमालेले जितेका छन् । भने २ वटा वडा काँग्रेसले जितेका छन् । एमालेले जितेका तीन वटै वडाका जनप्रतिनिधीले एमाले नछोड्ने अडानका साथ नेताहरुसँगको साथ छोडेका छन् । केन्द्रीय सदस्य हिक्मत शाही, गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीको गृह वडाकै अध्यक्ष सहीत सदस्यले एमालेमा बस्ने निर्णय गरेका छन् । युवा संघका अध्यक्ष नरेश कुमार शाही र जिल्ला सहसचिव नीरबहादुर शाहीको वडाका जनप्रतिनिधीले पनि एमालेमै बस्ने निर्णय गरेका छन् ।

    पार्टी अध्यक्ष बनेका गगन रावलको वडामा वडा सदस्य एमालेले जितेको थियो । ती सदस्यले समेत एमालेमै रहने निर्णय गरेकी छन् । भने सचिव पुरबहादुर रावतको वडाका अध्यक्ष खडक बहादुर बोहरा सहीत चार जना सदस्यले साथ नदिने निर्णय गरेका छन् । सचिव रावतको वडाका २ जना जनप्रतिनिधीलाई मार्तडी पुर्याएर पनि सनाखत नगरि फर्किएका छन् ।नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाको वडाका अध्यक्ष भरत थापा र एक जना वडा सदस्यले समाजवादी रोजेका छन् । प्रदेश अध्यक्षकै वडाका अध्यक्षले साथ छोडेको आरोप लगाएपनि समाजवादीका नेताहरुले आफ्ना वडाका जनप्रतिनिधीलाई साथ लिन सकेनन् ।

    समाजवादी रोजेका गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, पूर्व सांसद तथा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य हिक्मत शाहीका सहोदर भाइ हुन् । त्यही प्रभावले पार्टी राजेको नेकपा एमाले नेताहरुको दाबी छ । बाजुरामा २ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचित सांसद बल्देव रेग्मी र प्रकाश शाह, संघिय सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा नेकपा एमालेमै छन् । भने नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा पनि नेकपा एमालेमा नै छन् । अन्य जिल्लाको तुलनामा बाजुरामा समाजवादीको निकै कम प्रभाव देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images