images
images
  • पाँचथर र ताप्लेजुङ जोड्नेसहित ११ झोलुङ्गे पुल निर्माण

    पाँचथर- पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७र०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । कार्यालयले पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको हो ।

    निर्माण भएकामध्ये दुई वटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् । बाँकी नौमध्ये पाँचथरमा ६ वटा र ताप्लेजुङमा तीनवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । दुई जिल्ला जोड्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ सिलसिले र पाँचथरको याङवरक गाउँपालिका–२ ओखल्लीवारी जोड्ने ८३ मिटरको इवाखोला झोलुङ्गे पुल र यिनै दुई वडा जोड्ने ११९ मिटरको अर्को इवाखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

    यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा १२० मिटरको तमोर नदी झोलुङ्गे पुल फूलबारी आमबोटे, मैवाखोला गाउँपालिका–६ थुकिम्बा र मेरिङदेन गाउँपालिका–१ पाङ्लाबुङ जोड्ने ११५ मिटरको मैवाखोला झोलुङ्गे पुल र फक्ताङलुङ गाउँपालिकाको वडा नं। वडा नं। ५ र ६ लाई जोड्ने १२० मिटरको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    यस्तै पाँचथरतर्फ फिदिम नगरपालिका वडा नं। ११ र १३ लाई जोड्ने ७३ मिटरको पञ्चमी झोलुङ्गे पुल, फिदिमकै वडा नं। ८ र १३ लाई जोड्ने ९६ मिटरको बोझेगरा टिम्मुरे झोलुङ्गे पुल, फिदिमकै वडा नं। १४ मा १२० मिटरको बाँस्बोटे शीतलपाटी झोलुङ्गे पुल, फालेलुङ गाउँपालिका वडा नम्बर ३ मा ८१ मिटरको खेवा थानखोला पोक्नवा झोलुङ्गे पुल र मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा ९३ मिटरको सेङ्गेवा खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

    ११ वटै पुलहरु निर्माणका लागि तीन करोड ८९ लाख १७ हजार रुपैयाँ विनियोजन भएकामा तीन करोड ७३ लाख ४५ हजार रुपैयाँ खर्च भएको पूर्वाधार विकास कार्यालयको तथ्याङ्क छ । झोलुङ्गे पुल निर्माण कार्यमा शतप्रतिशत भौतिक प्रगति भएको छ भने ९५।९६ प्रतिशत वित्तीय प्रगति भएको उक्त तथ्याङ्कले देखाएको छ ।

    मानिसको नियमित आवत–जावत हुने क्षेत्रका खोला तथा खोल्साहरुमा झोलुङ्गे पुल नहुँदा विशेषतः बर्खायाममा सर्वसाधारणले समस्या झेल्ने गरेका थिए । पाँचथरमा एक समय सिरिजङ्घा ग्रामीण विकास केन्द्रले तत्कालीन जिल्ला विकास समितिको कार्यालयसहितका निकायको सहयोगमा झोलुङ्गे पुल निर्माणको अगुवाई गरी दशौ स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images