गैरआवसीय (एनआरएनए ) नेपाली संघको आगामी अक्टोवरमा हुन लागेको केन्द्रिय चुनावको विषयमा केन्द्रित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस )को जिम्मेवारीमा रहेका एंव पार्टीका कार्यसम्पादन समिति सदस्य विजय खड्कासँग विश्वखबरले गरेको विशेष कुराकानीको संपादित अंश :
तपाइँ राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समिति सदस्य एवं भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस)को जिम्मेवारीको भूमिकामा हुनुहुन्छ । खासमा पानसले प्रवासीहरुको समस्या, मुद्धामा कस्तो काम गरिरहेको छ ?
अहिले प्रवासमा २६ वटा देशमा पानसको संगठन विस्तार भएको छ । हजारौँ मानिसहरु यसमा क्रियाशिल छन् र सदस्यता लिएका छन् । राप्रपाको विचारधारा हिन्दु राष्ट्र, राजसंस्था, संघियताको विरोध र मौलिक प्रजातन्त्रको स्थापना धर्म संस्कृतिको रक्षा गर्ने दायित्व लिएको छ । पार्टीको सुधृढिकरण र यी माथि मैले भनेका विषयहरु प्रवासमा पनि जोडियोस भन्ने उदेश्य हामीले राखेका छौँ । हाम्रो विचारधारालाई पछ्याउने धेरै प्रवासी नेपालीहरु छन् । त्यसैले पनि हाम्रा विचारधारालाई आवद्ध गर्नका लागि प्रवासमा संगठन खोलेका छौँ । यसको अलवा प्रवासमा रहेको ज्ञान, शीप र लगानी नेपालमा भित्र्याउन पनि यसले भूमिका लेखोस भन्ने हो । नेपालको धर्म संस्कृति परम्परा प्रवासमा छँदा विस्तारै छुट्दै जान्छ । त्यसलाई नेपालको धर्म संस्कृति परम्परासँग पुनः आवद्धता गर्नका लागि प्रवासमा विभिन्न किसिमका कार्यक्रमहरु गर्ने गरेका छौँ ।
प्रवासमा रहेका एनआरएनएहरुसँगको तपाइँहरुको सहकार्य कस्तो छ ?
हामीले पार्टीको भातृ संगठनको रुपमा (पानस) खोलेका हाँै । प्रवासमा नेपालीहरुका बीचको सम्बन्ध र समाज सेवाको कार्यको निरन्तरताको लागि एनआरएनए र पानसका बीचमा सहकार्यगत भावना र घनिष्टताका साथ अगाडि बढिरहेका छ । तर एनआरएनएमा हाम्रो सदस्यहरुको उपस्थिति हुँदा पार्टीको सदस्यता रहने तर सक्रिय रुपमा पदहरु नरहने व्यवस्था गरेका छौँ । एनआरएनए एउटा स्वतन्त्र संस्था भएको हुनाले पार्टीगत हस्तक्षेप निरुत्साहित होस र व्यक्तिले त्यहाँ स्वतन्त्र तवरले काम गर्न सकोस भन्ने हाम्रो मान्यता हो ।
प्रवासी नेपालीहरुको हकहितको लागि तपाइँहरुले के गरिरहनुभएको छ ?
प्रवासी नेपालीहरुको हकहितको लागि राप्रपाले जहिले पनि आवाज उठाउँदै आएको छ । प्रवासमा रहेका प्रवासीहरुको मुद्धालाई हामीले गहिरोसँग नियालेका छौँ । हामीले विगतमा म आफू नै प्रवास विभाग प्रमुख रहँदा प्रमुख निर्वाचन आयुक्त अयोदी प्रसाद यादवसँग प्रवासी नेपालीहरुको यहि निर्वाचनबाट मतदानको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र बुझाएका थियौँ । त्यो ज्ञापनपत्र बुझ्दै यादवले प्रवासी नेपालीहरुको हकहित र मतदान अधिकार सुनिश्चित गर्नपर्छ भनेर आउने तपाइँहरु पहिलो पार्टी हो भन्नुभएको थियो । उहाँले हामी यसलाई स्वागत गर्छौ भन्नुभएको थियो । केहि टेक्निकल बाधा व्यवधानहरु छन्, तैपनि हामी यसको सहजतापछि कार्यान्वयनमा लैजान्छौँ भन्नुभएको थियो । प्रवासी नेपालीहरुको रोजगारी लगाएतका फरक देशमा फरक किसिमका मुद्धाहरु छन् । अमेरिकामा फरक किसिमको मुद्धाहरु छन् । यता खाडी मुलुकहरुमा रोजगारी र मृत्यु भएकाहरुको लास नेपाल ल्याउन नपाईरहेको सवालहरु छन् । अस्ट्रेलिया तिर विद्यार्थीहरुको समस्याहरुको सवाल छ । यस्ता धेरै किसिमका सवालहरुलाई न्यूनिकरण गर्न सक्दो सहयोग हामीले गर्दै आएका छौँ । प्रवासीहरुको मुद्धामा जहिले पनि अग्रपंक्तिमा रहेर राप्रपा र पानसले काम गरिरहेको छ ।
एनआरएनएहरुको चुनाव नजिकिँदै छ यसलाई तपाइँहरुले कसरी नियाल्नुभएको छ ?
निश्चय नै एनआरएनए प्रवासी नेपालीहरुको उच्चतम गौरवमय संगठन हो । यो गैरराजनीतिक र गैरनाफामुलक संस्था हो । राजनीतिभन्दा पृथक रहेर यो संस्था अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर विगतका एनआरएनएहरुको कन्फ्रेन्स, चुनावहरुमा कांग्रेस, एमाले, माओवादी लगाएतका ठूला दलहरुको नाङ्गो हस्तक्षेप, ती दलहरुलाई एनआरएनएले लगानी गरेको सुन्दा हामीले त्यसको विरोध गरेका छौँ । एनआरएनएमा कुनैपनि किसिमका हस्तक्षेप नहोस भन्ने हामी चाहन्छौँ । त्यहि भएर हामीले पानसमा भएका सदस्यहरुलाई एनआरएनएमा जाँदा पदिय जिम्मेवारीमा नराखेको कारण पनि त्यहि हो । एनआरएनएको अगुवाहरु प्रवासबाट नेपालमा जो आईरहेका छन् उनिहरुले नेपाली समाजलाई, नेपालका राजनीतिक दलका नेताहरुलाई विदेशमा भएका स्रोत साधन के–के छ, हामीले के सिकेका छौँ, एउटा संयमता र बौदिकता लगाएतका विषयमा नयाँ सन्देश दिनुपर्नेमा त्यो भन्दा पनि अहिले एउटा विहारी शैलीमा चुनाव भएका छन् । गुण्डागर्दीको शैलीमा चुनाव भएको छ । टेक्नोलोजीको यस्तो समयमा समेत भर्खर केहिदिन अघि सम्पन्न यूकेको चुनावको समिक्षा गरिरहेको थिएँ । त्यो म लाईभ हेरिरहेको थिएँ । त्यहाँ २ हजार भन्दा बढि मत फर्जि पर्यो भन्ने कुरा छ । नेपालको भन्दा पनि टेक्निकल साउण्ड भएको एनआरएनए नेपाली समाजलाई केहि न केहि देखाउनुपर्ने, नेपाली समाज रुपान्तरणमा त्यसको महत्वपूर्ण भूमिका हुनुपर्ने तर त्यस्तो नभई त्यसको ठिक विपरित भएको छ । यसमा हामीलाई दुःख लागेको छ । हामी राप्रपाको विभागीय तर्फबाट खेद प्रकट गर्दछौँ ।
र अर्को कुरा नेपालमा भएका विभिन्न डिज्यास्टर (प्रकोप)हरु भएका छन्, कोभिडको महामारीमा एनआरएनएहरुले सहयोग गर्नुपर्छ । उहाँहरु मिडियामा आउनका लागि मात्र हैन कि यहाँका खास भिक्टिमहरुले सहयोग पाउने वातावरण बन्नुपर्छ ।
प्रवासी नेपालीका पनि आ–आफ्नै किसिमका समस्या छन् । त्यसलाई तपाइँहरुले सम्बोधन गर्न कस्तो खालको प्रयत्न गर्नुभएको छ ?
एक पटकको नेपाली सँधैको नेपाली भनेर एनआरएनएले उठाएको नारा छ, वास्तवमा त्यो सहि नारा हो । विदेशमा नागरिकता पाइसकेको नेपालीलाई नेपालमा एउटा परिचयपत्र दिने त्यो एउटा कुरा छ । जहाँसम्म ब्रिटिस गोर्खाहरु र त्यहाँका स्थायी नागरिकहरुको कुरामा राप्रपाका अध्यक्ष कमल थापा उप–प्रधान तथा परराष्ट्र मन्त्री हुँदा गेसोबाट एउटा टिम भेटघाटको लागि आएको थियो । सकभर उनिहरुको समस्याहरुलाई न्यूनीकरण गर्ने र ती विषयहरुलाई सम्बोधन गर्न ब्रिटिस सरकारसँग उहाँले नेपाल सरकारको परराष्ट्र मन्त्रीको हैसियतले डिलिङ गर्नुभएको थियो । म पनि गेसोसँगको वार्तामा सहभागि थिएँ । उहाँहरुको गुनासो, समस्याहरु सुन्ने मौका पाएको थिएँ ।
ब्रिटिसमा होस वा इन्डियामा होस त्यहाँको देशको रक्षा गर्ने त्यहाँको नागरिक भईसकेपछि ती नेपालीहरुले त्यहाँका नागरिकहरु सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा राप्रपा दृढतापूर्वक लाग्छ । नेपालीहरुको साखको लागि नेपाल सरकारले पनि त्यस विषयलाई अगाडि बढाउनुपर्छ, हामी त्यसमा पछाडि हट्न हुँदैन । जसरी पनि त्यो लागु हुनुपर्छ । विदेशमा बसेका नेपालीहरुको हकहितको लागि नेपाल सरकार बाल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
तपाइँहरुको पार्टी आफैँमा कमजोर भएको अवस्थामा तपाइँको पार्टीका भातृसंगठनले कसरी काम गर्न सक्छन् भन्ने प्रश्न पनि छन नी ?
राप्रपा आफैँमा कमजोर पार्टी हैन । अन्य पार्टीको मुद्धा एकातिर छ, राप्रपाको मुद्धा अर्कोतिर छ । अहिले सबै दलहरु एकपक्षीय छन्, राप्रपा एक्लो विपक्ष हो । संसदीय अभ्यासमा हाम्री कम सिटमा छौँ होला तर विचारधाराको रुपमा राप्रपा यो मुलुकको वैकल्पिक प्रजातान्त्रीक पार्टी हो, वैकल्पिक शक्ति हो । आज नभए पनि भोली, भोली नभए पर्सि राप्रपाले उठाएको मुद्धा कार्यान्वयन हुन्छ । राजसंस्था, हिन्दु राष्ट्र, संघीयताको विरोध र अन्य सामाजिक मुद्धाहरु, धर्मसंस्कृतिको मुद्धाहरु उठाइरहेको छ । यो मुद्धामा अहिले कांग्रेस–कम्युनिष्ट मुलधारको पार्टी लगाएत यूवाहरुको प्रतिनिधित्व गर्ने भनेर आएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र समेत आइसक्नुभएको छ । त्यसकारण मुद्धाका हिसाबले राप्रपाले सफलता प्राप्त गरिसकेको छ । अब यसलाई भोटको रुपमा परिणत गरेर कार्यान्वयन गराउन मात्र बाँकी हो । आगामी निर्वाचनमा त्यो सफलता हात पार्छौँ भन्ने हामीलाई विश्वास छ । आगामी दिनमा राप्रपा यो देशको अग्रणी पार्टी हुन्छ । अहिले विदेशी हस्तक्षेप र यावत किसिमका विकृति र विसंगतिहरु छन् त्यसलाई चिर्न राप्रपा मुलधारबाट नेतृत्वमा आएपछि न्यूनिकरण हुन्छ । र त्यसका लागि हरसम्भव प्रयास गर्नेछ ।
के प्रवासमा भएका नेपालीले पनि साथ दिन्छन् ?
राजनीतिक रुपमा अन्य पार्टीहरु अलि दह्रो देखिएको हुनाले प्रवासमा भएका नेपालीहरु त्यतातिर पनि जोडिएको जस्तो देखिन्छ । तर धर्म–संस्कृतिको विषयमा प्रवासी नेपालीहरु अत्यन्त सक्रिय र सचेत छन् । त्यसकारण राप्रपाले जुन मुद्धा उठाइरहेको छ, त्यो मुद्धामा प्रायः सबै प्रवासी नेपालीहरुको समर्थन छ । प्रवासमा करिब ७० लाख नेपाली छन् भनिएको छ । त्यसमा ९० प्रतिशत भन्दा बढिले कुनै न कुनै रुपमा त्यो मुद्धालाई सपोर्ट गर्छन् भन्ने हामीलाई लागेको छ ।
नेपालका राजनीतिक पार्टीहरुले आर्थिक चलखेलका लागि पनि प्रवासमा भातृसंगठन खोल्ने गरेका छन् भन्ने आरोप लाग्ने गरेको छ नी ? तपाइँहरुले त्यस्तो आरोप खेप्नुभएको छ कि छैन ?
राप्रपाले आर्थिक चलखेलका लागि यो संगठन (पानस) बनाएको होईन । राप्रपाले त्यो संगठनलाई एउटा स्वायत्त संगठनको रुपमा लिएको छ । राप्रपाको मुद्धाहरुलाई बोक्न सकेन भने प्रवासको हाम्रो त्यो संगठनको अस्तितव फरक हुन्छ । त्यो भातृसंगठन यहाँ अमुक नेताहरुलाई पैसा दिने र आर्थिक चलखेलका लागि होईन । हामी नेपालमा दैविक प्रकोप तथा सामाजिक अप्ठ्याराहरुमा राप्रपाको भातृसंगठनका रुपमा प्रवासी नेपालीहरुले सहयोग गर्छन् । भूकम्पको बेला पनि प्रवासमा रहेका हाम्रा भातृसंगठनमा आवद्ध नेपालीहरुले दश बाह्र लाखको सहयोग गरेका थिए । अहिले कोभिडको समयमा पनि विभिन्न किसिमका सहयोगहरु पठाउनुभएको छ । कोभिड न्यूनिकरणमा उहाँहरुले अक्सिजन कन्र्सट्रेटर, माक्स, स्यानीटाइजर लगाएतका सामाग्रिहरु सहयोग गर्नुभएको छ । अन्य आवस्यक सामाग्रिहरु पनि सहयोग गरिरहनुभएको छ । तर हामीले चुनावी राजनीतिका लागि उहाँहरुबाट सहयोग लिने गरेका छैनौँ ।
राप्रपा एकिकरणको काम अँझै सकिएको छैन । आगामी अक्टोबरमा एनआरएनएको चुनाव हुँदै छ । यसमा तपाइँहरु कसरी सहकार्य गर्नुहुन्छ ?
प्रवासमा हाम्रो २६ देशमा संगठन विस्तार भैसकेको मैले पहिले नै बताईसकेँ । त्यो भन्दा बाहेकका देशमा जति एनआरएन छन् त्यसमा पनि धर्म, संस्कृति, रितिरिवाज मान्ने राजसंस्था मान्ने धेरै छन् । हाम्रो संगठन भौतिक रुपमा २६ देशमा भएपनि हाम्रो विचारधारासँग आवद्ध भएका संसारभरका नेपालीहरु छन् । २६ देशमा पनि केहि मुख्य देशहरुमा हाम्रा प्रतिनिधिहरुले चुनाव जितेका छन् । जापान, मलेसिया, हङकङ, जर्मनी, नेदरल्याण्ड, यूके, अमेरीका अष्ट्रेलिया लगाएतका देशहरुमा हाम्रा प्रतिनिधिले चुनावमा जित हाँसिल गरेका छन् । कोही प्रतिद्वन्दी भएका छन् । पार्टीगत भन्दा पनि हाम्रो विचारधारा र अन्य कुराहरुलाई उहाँहरुले कोआर्डिनेशन गर्नेछन् । एनआरएनमा भौतिकरुपमा यस्लाई भोट हाल उस्लाई भोट हाल भन्दैनौँ । नेपालमा भएको गत चुनावमा पनि हाम्रो विचारधाराका करिब २ सय प्रतितिनिधि भौतिक रुपमा उपस्थित भएका थिए । यसपालीको चुनाव भर्जुअल माध्यमबाट हुने भएकाले करिब ३ सय प्रतिनिधि हाम्रो विचारधाराका साथीहरु सहभागि हुने अपेक्षा गरिएको छ । उनिहरुको कोआर्डिनेशन एनआरएनए भित्रै भएका नेपाली र हाम्रो संगठनमा भएका साथिहरुले गर्नेछन् । हामीले पार्टीगत हस्तक्षेप गर्दैनौँ । तरपनि हाम्रो भोट भने एकताबद्ध हुन्छ ।
नेता खड्कासँग गरिएको कुराकानीको पुरा भिडियो :






















