काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरूलाई ९३ प्रतिशत होइन, पूर्ण जित चाहिएको बताएका छन् ।
भेटरन्स डे (सैनिक दिवस) का अवसरमा बुधबार अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै उनले अमेरिकी सेनाकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने दाबी गरे ।
अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको जिकिर गर्दै ट्रम्पले सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको आरोप लगाए । यस विषयलाई धेरै पहिल्यै समाधान गरिसक्नुपर्ने भए पनि आफ्नो प्रशासनले अन्ततः त्यसको जवाफ दिएको उनको भनाइ थियो ।
ट्रम्पले भने, ‘हामीले जवाफ दियौं । हामीले जितिसकेका छौं । अब प्रश्न यति मात्र हो कि हामी यो युद्ध कहिले अन्त्य गर्न चाहन्छौं ।’
उनले अमेरिकाले युद्धमा आंशिक सफलता मात्र नभई पूर्ण विजय सुनिश्चित गर्न चाहेको स्पष्ट पारे ।
‘हामी ९३ प्रतिशत जित होइन, पूर्ण जित सुनिश्चित गर्न चाहन्छौं । यो पूर्ण विजय हुनेछ’, उनले भने ।
ट्रम्पले इरानमा अमेरिकाले गरेको विनाशबाट पुनः पूर्ववत् अवस्थामा फर्किन इरानलाई २५ वर्ष लाग्ने दाबीसमेत गरे ।
उनले भने, ‘आशा छ, अब हामीले त्यस देशमा थप केही पनि ध्वस्त पार्नु नपरोस् । त्यसलाई फेरि उभ्याउन उनीहरूले धेरै काम गर्नुपर्नेछ ।’





















