काठमाडौं- जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिकहरू बढी प्रभावित छन् ।
यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक भएको हो । जर्मनीको सशस्त्र बललाई ‘बुन्डेसवेर’ भनिन्छ ।
मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुर्व्वयहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुर्व्यवहारको सामना गर्नुपरेको बताएका छन् ।
उनका अनुसार कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुर्व्वयहारबाट बढी प्रभावित छन् । पुरुष सैनिकहरूमध्ये भने विपरीत लिङ्गीप्रति आकर्षित नहुनेहरू बढी दुर्व्वयहारको सिकार भएको पाइएको छ ।
सर्वेक्षणमा सहभागी कुल सैनिकमध्ये दुई प्रतिशतले आफू यौन हिंसाको सिकार भएको बताएका छन् ।
‘बुन्डेसवेरमा यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति लागू हुन्छ’, पिस्टोरियसले भने । उनले यस्तो समस्या सम्बोधन गर्न पीडितलाई सहयोग उपलब्ध गराउने, रोकथामका उपाय प्रभावकारी बनाउने तथा अनुसन्धान र अनुशासनात्मक कारबाहीलाई थप सुदृढ पार्ने योजना पनि प्रस्तुत गरे ।

मन्त्री पिस्टोरियसले यो अध्ययन बुन्डेसवेरमा गरिएको आफ्नो किसिमको पहिलो सर्वेक्षण भएको बताए ।
अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो । यो सङ्ख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार २०० को करिब चार प्रतिशत हो ।
यसैबीच ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि जर्मनीले आफ्नो रक्षा क्षमता सुदृढ पार्ने प्रयास तीव्र बनाएको छ । रुसी खतराको सामना गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा युरोपबाट अमेरिकी सैन्य उपस्थिति घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्नु तथा नेटोका नयाँ लक्ष्य पूरा गर्नु जर्मनीको प्राथमिकतामा छन् ।
बर्लिनले सन् २०३५ सम्ममा दुई लाख ६० हजार सक्रिय सैनिक र दुई लाख जगेडा सैनिकसहितको सैन्य बल तयार पार्ने लक्ष्य राखेको छ ।
सन् २०११ मा अनिवार्य सैन्य सेवा स्थगन गरिएपछि पर्याप्त लगानीको अभाव र सैनिक सङख्यामा निरन्तर आएको गिरावटका कारण जर्मनीको सैन्य क्षमतामा ह्रास आएको थियो ।
हाल बुन्डेसवेरमा महिला सैनिकको सहभागिता करिब १४ प्रतिशत मात्र छ ।
-एजेन्सी





















