काठमाडौं – नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालित नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षको अवधिमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत अभिलेखीकरण गरेको छ ।
सन् २०१८ मा सुरु भएको परियोजनाले ऐतिहासिक स्मारक र पुरातात्विक सामग्रीको विवरण सङ्कलन गर्नुका साथै विभिन्न जात्रा, पर्व तथा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र र अभिलेखसमेत तयार पारेको छ । सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको डिजिटल डेटाबेसमा समावेश गरिएको छ ।
परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज, नेपालको सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो । बेलायतको आर्केडिया फण्डले परियोजनाका लागि मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
यसका अतिरिक्त हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), युनेस्को नेपाल, काठमाडौं विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौं कार्यालयले पनि सहकार्य गरेका थिए । परियोजनाको प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत सहभागी थियो ।
परियोजना सम्पन्न भएसँगै यसले तयार पारेको डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख तथा व्यवस्थापनको जिम्मेवारी नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले लिने भएको छ ।
परियोजना प्रमुख प्राडा क्रिष्टियाने ब्रोसियसले डिजिटल अभिलेखले अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पदाप्रेमीलाई नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाबारे अध्ययन तथा अनुसन्धान गर्न महत्त्वपूर्ण आधार उपलब्ध गराउने बताए । परियोजनाको समापनलाई सम्पदा संरक्षणको नयाँ यात्राको सुरुआतका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्ने तथा सर्वसाधारण र अनुसन्धानकर्ताको सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । डेटाबेसको व्यवस्थापनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण र अनुसन्धानमा संलग्न विज्ञलाई आवश्यक जानकारी उपलब्ध गराइने उनले बताए ।
परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन तथा सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेख तयार पारिएको छ । ब्रोसियसका अनुसार बाढीपहिरोबाट क्षति पुगेका वा पूर्ण रूपमा बगेका संरचनालाई पुरानै स्वरूपमा पुनर्निर्माण तथा संरक्षण गर्न यस्ता अभिलेख उपयोगी हुनेछन् । विपद्का कारण सम्पदा नष्ट भए पनि त्यसको पुरानो स्वरूप, बनावट र ऐतिहासिक विशेषता पहिचान गर्न अभिलेखीकरणले सहयोग पुर्याउने उनले बताए ।
यसैबीच, जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहमा रहेका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ । जर्मनीबाट नेपाल फिर्ता ल्याइएका ती सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ तथा यात्रा संस्मरणलगायत ऐतिहासिक दस्तावेज छन् ।
सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा उक्त सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई सुम्पिइएको थियो । जर्मनीमा ती सामग्रीको संरक्षण, डिजिटलाइजेसन तथा सूचीकरणको काम पूरा भएपछि नेपाल ल्याएर राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको हो ।
ऐतिहासिक स्मारक, शिलालेख, पुरातात्विक वस्तु र हस्तलिखित दस्तावेजको अभिलेखीकरणले नेपालको इतिहास, कला, संस्कृति र वास्तुकलासम्बन्धी अध्ययनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । डिजिटल अभिलेखको दीर्घकालीन व्यवस्थापन र सार्वजनिक पहुँच सुनिश्चित गर्न सके सम्पदा संरक्षण, पुनर्निर्माण तथा भावी पुस्ताका लागि ऐतिहासिक ज्ञान हस्तान्तरणमा समेत योगदान पुग्ने देखिन्छ ।






















