images
images
  • यूकेबाट आचार्यको घोषणाः एनआरएनमा गुटगत स्वार्थलाई निरुत्साहित गर्न म पुनः अध्यक्षमा उमेद्वारी दिँदैछु

    • images
    • १ भाद्र २०७८

    यूके। गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार एवं पूर्व उपाध्यक्ष कुल आचार्यले संस्थामा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न पुनः अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको बताउँदै आचार्यले पुनः आफू चुनावी मैदानमा उत्रिएको विश्वखबरलाई बताएका हुन् ।

    आचार्यले अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन् । ‘संस्थामा लामो समयदेखि निस्वार्थ सेवामा खटेको उनले दावीसमेत गरेका छन् । मैले कहिल्यै पनि कमिसन वा व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन । ‘संस्थाको हितका लागि गलत क्रियाकलापको मैले सँधै नै विरोध गरिरहेको छु,’ उनले भने ।

    सबै गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र यूवालाई साथै लिएर जाने आफ्नो भिजन रहेको उनले बताए ।
    आचार्यले थपे, ‘गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको म विरोधी हुँ । त्यसैले संघको साखलाई उचो बनाउन तमाम अग्रज र गैरआवासीय नेपाली समुदायको विशेष अनुरोधलाई स्वीकार गरेर नै म उम्मेद्वार बन्ने निधोमा पुगेको हुँ ।’

    एनआरएनएको आगामी नेतृत्वका लागि रसियाबाट डा. बद्री केसी र अमेरिकाबाट रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन् । यसपटक त्रिपक्षिय प्रतिस्पर्धा हुने लगभग पक्का जस्तै छ । डा. केसी, आचार्य र थापाबीच चुनावी प्रतिस्पर्धा हुने ठानिएको छ । डा.केसीलाई नेकपा एमाले निकट, आचार्य नेपाली कांग्रेसको देउवा निकट र थापा नेपाली कांग्रेसको पौडेल र कोईराला निकट मानिन्छन् । यद्यपी आचार्य र थापा सहमतिका आधारमा एकको मात्रै उमेद्वारी हुने सम्भावना पनि त्यत्तिकै छ ।

    को–को छन् आचार्यको प्यानलमा ?

    ‘संघको विधानले प्यानल बनाउन बर्जित गरेको छ । तर विचार र मुद्दा मिल्नेहरु एक अर्कालाई सहयोग गर्ने सर्तमा एकत्रित हुनु स्वाभाविक हो । टिममा बौद्धिक साथीहरु, सफल ब्यक्तित्वहरु, उद्यमी व्यवसायीहरु, सबै तप्का, क्षेत्र, समुदाय, पेशा र समूहका साथीहरुको समावेसी टिम बनाएर अघि बढ्ने प्रण गरेका छौं,’ अध्यक्षका प्रत्यासी आचार्यले विश्व खबरसँगको कुराकानीमा बताए ।

    उनले आफ्नो टिमको महासचिवको उम्मेदवार अमेरिकाका डा. केशव पौडेलले उमेद्वारी दिने बतएका छन् । ‘अन्य पदमा एनआरएन अभियानमा लामो समयदेखि सक्रिय, समाजले पत्याएका, वरिष्ठ साथीहरुलाई समेटेर छिट्टै एउटा समावेशी टिम बनाएर अन्तिम रुप दिने तयारी भै रहेको छ । छिट्टै हामी घोषणा गर्ने छौं,’ उनले भने ।

    स्रोतका अनुसार आचार्य समूहबाट खुल्ला चार उपाध्यक्षतर्फ मन केसी, सोनाम लामा, त्रिलोक गुरुङ, एसी शेर्पा, आरके शर्मा, हिक्मत थापा, सुनील साह मध्येबाट उम्मेदवारी पर्ने सम्भावना रहेको छ । यस्तै महिला उपाध्यक्षमा बेल्जियमकी जानकी गुरुङ र यूवा उपाध्यक्षमा मध्यपूर्व यूवा संयोजक राज रेग्मीको नाम चर्चामा छ । आचार्य समूहमा पनि सचिव पदका लागि आकांक्षीहरुको संख्या धेरै नै रहेको बताइन्छ । कोषाध्यक्षमा वर्तमान सह–कोषाध्यक्ष लोकप्रसाद दाहालको नाम चर्चामा छ । यद्दपि दाहाललाई डा.केसीको प्यानले आफ्नो उम्मेदवारको रुपमा दाबी गर्दै आएको छ । तर आचार्य समूहमा नै कोषाध्यक्ष पदका लागि सोम सापकोटाको नाम पनि चर्चामा रहेको छ । एनआरएनए युरोप संयोजकमा शुक्रराज न्यौपाने (आयरल्यान्ड) वा चिन्तामणि सापकोटा (स्पेन) मध्ये एकलाई अघि सार्ने आचार्य समूहको तयारी छ ।

    अध्यक्षका अर्का प्रत्यासी डा.केसीको समूहले भने मुख्य पदहरुमा टुङ्गो लगाइसकेको बताएको छ । यद्धपी संघको विधानले प्यानल बनाएर लड्नलाई आईसीसी तथा एनसीसीका निर्वाचनहरुमा विधानको उलङ्घन हुँदै आएको छ ।

    यस्ता छन् आचार्यका मुख्य एजेन्डा

    नेपालका सबै राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याई संविधानले नै प्रदान गरेको गैरआवासीय नागरिकता कानून पारित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै यो विषयलाई आचार्यले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
    ‘गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा प्राथमिकताको विषय हो । यस्तै कोभिड–१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ । स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु ।’ उनले थपे ।

    प्रवासी लगानीमैत्री नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले भने, ‘नागरिकताको अभावमा कतिपय गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न नपाएको तथा नेपालमा रहेको पैतृक सम्पत्ति पनि परिचालन गर्न नसकेको अवस्था छ । यस्ता समस्याको समाधान गर्न मैले नेपाल सरकारलाई आग्रह गर्ने छु ।’

    प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिंदै आएको उनले बताए । आफ्ना प्रतिवद्धताहरू छिट्टै औपचारिक रुपमा नै सार्वजनिक गर्ने पनि आचार्यले बताएका छन् । हालै सम्पन्न एनसीसीहरुको चुनाव र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा केन्द्रले हस्तक्षेप गरिरहेको भन्ने गुनासो आएको आचार्यले बताए । आचार्यले भने,‘विधानको आफूखुसी व्याख्या गर्ने प्रवृत्ति देखिएको छ । म एनसीसीहरुलाई स्वायत्तता दिनु पर्छ भन्ने कुरामा विश्वास गर्छु । संस्थाको पारदर्शिता, संस्थाका सदस्यहरुको डेटा सुरक्षा, एनसीसीहरुको स्वायत्तता अर्थात हरेक देशका एनसीसीहरुलाई आफ्ना सदस्यहरुका डेटा, आफ्नो नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न स्वतन्त्र निर्णय गर्न छोडीदिने कुरामा म विश्वास गर्छु ।’

    आचार्य एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । आचार्य संघका अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए । अहिले उनी एनआरएनएको सल्लाहकार सदस्य समेत छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images