गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने आसन्न निर्वाचनमा केन्द्रिय अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी हुने निश्चित प्रायः छ ।
अमेरीकाबाट उपाध्यक्ष रविना थापाले अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेकी छन् ।लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।
एनआरएनए केन्द्रिय अध्यक्ष पदका लागि महिलाबाट उमेद्वारी दिने घोषणा भएको यो दोस्रो पटक हो, भने कार्यसमिति सदस्यबाट अध्यक्षका लागि उमेद्वारी दिन लागिएको पहिलो पटक हो । त्यसैले पनि आगामी निर्वाचन रोचक हुने अपेक्षा गरिएको छ । थापाले संघको आगामी कार्यकाल सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन् ।
यसअघि उनले उपाध्यक्ष बाहेक एनसीसी अमेरिकाको उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् । यसबाहेक उनी विभिन्न सामाजिक संघ–संस्थामा सल्लाहकारको भूमिकामा समेत सक्रिय छिन् । कोरोना महामारीमा अमेरिका, युरोप र खाडी मुलकका विभिन्न देशमा मात्रै होईन नेपालमा समेत आफ्नै नेतृत्वमा सहयोग संकलन गरेर राहत सहयोग समेत गरेकी थिईन् । नेपालमा विनाशकारी भुकम्प जादा समेत उनको ठूलो योग्दान पु¥याएकी छन् ।
जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बन्न लागेकी छिन् । विशेषतः महिला र यूवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा सक्रिय थिइन ।
नेपालमा कलेज, हस्पिटालिटी, हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा पनि लामो अनुभव बोकेकी नेतृ हुन् । एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको यूवा तथा महिला विभागको संयोजक र वान एनसिसि वान च्यारारेटीको संयोजक भएर काम गरेकी छन् । हरेक क्षेत्रमा पोलेसि बनाउन उनको अहम भुमिका रह्यो ।
उनी आफ्नो कार्यकालमा एनआरएनएमा महिला सहभागिता बढाउन सफल देखिएकी छन् । एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको उनको बुझाई छ । उनले यसका लागि आफू योग्य उम्मेदवार भएको दावी गरेकी छन् । संघको १० औ महाधिवेशन तथा नयाँ नेतृत्वका चयनका लागि हुने निर्वाचन आगामी अक्टोबरमा हुँदैछ । एनआरएनए नयाँ नेतृत्वको विषयमा अध्यक्षको प्रत्यासी थापासँग विश्व खवरसंग गरेको कुराकानीको सम्पादित अंशः
एनआरएनए कार्यकारीणी समितिमा महिला उपाध्यक्षको तर्फबाट इतिहासमा पहिलो पटक केन्द्रीय अध्यक्षमा महिलाको उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ?
आउँदो कार्यकालका लागि मेरो दावेदारी स्वभाविक रहन्छ । अहिले उपाध्यक्ष पदमा छु । अबको मेरो लक्ष्य भनेकै अध्यक्ष पद हो । मैले यसपालि नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेको छु । त्यसको तयारी पनि सुरु भइसकेको छ ।
एनआरएनएको दुई दशक लामो इतिहासमा हालसम्म महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । जमुना घलेले आँट गर्नु भएको थियो । तर, सफल हुनु भएन । महिला पनि सक्षम छन् । महिलाले पनि एनआरएनए हाँक्न सक्छन् । मेरो भनाई त अहिले सबैले सहमतिमा मलाई (महिला) नेतृत्व छोड्नु पर्छ भन्ने नै हो । सोच परिवर्तन गर्न जरुरी छ । अध्यक्ष पदमा मेरो सर्वस्विकार्यताले एनआरएनएमा महिला सहभागीतालाई न्याय मिल्ने छ ।
एनआरएनए चुनावको मुखमा ‘मिडिया प्रोपगाण्डा’ गरेर बार्गेनिङको लागि उम्मेदवारी घोषणा गर्ने प्रवृत्ति विगतदेखीको नै हो नि ! कतै के तपाईंपनि यस्तै त गर्नु भइरहेको त छैन ?
म उपाध्यक्षमा उपाध्यक्ष्यहरुको सर्वाधिक मत ल्याएर विजयी भएकी उम्मेदवार हुँ । यो ‘प्रोपगाण्डा’ कसरी हुनसक्छ ? म अहिलेको अवस्थामा अध्यक्ष पदको बलियो दाबेदार हुँ । त्यही भएर मेराविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । आम एनआरएनहरुले म र संस्थाप्रति सदभाव राखेर अभियान नै चलाई राख्नुभएको छ, महिलालाई एनआरएनए नेतृत्वमा स्थापित हुन नदिन केही समूहले रचेको प्रपञ्चलाई तोड्न जरुरी छ ।
संघमा सामाजिक काम गर्न जोडिएकी व्यक्ति हुँ म । यसबाहेक मेरो दोस्रो कुनै स्वार्थ छैन । एनआरएनएको निर्वाचनमा पैसाको चलखेल नहोस् भन्न कै लागि पनि मेरो उम्मेदवारी हो । मेरो आफ्नै व्यवसाय छ । सबै कुराले पुगेको नै छ । सबै कुरा हुँदाहुँदै मलाई के चाहियो र ? के–का लागि बार्गेनिङ गर्नुपर्यो ? यस्ता हल्ला फिँजाइदा दुःख लागेका छ । तर, म पछि हट्दिन । महिलाले नेतृत्व लिन सक्छन् भन्ने देखाउनकै लागि पनि म अघि बढ्छु र बढ्न जरुरी छ । एनआरएनएको इतिहासमा महिला नेतृत्वमा आउनु पर्छ । म ढुक्क छु, चुनावी नजिता मेरो पक्षमा आउँछ भन्नेमा ।
अर्को पटकको निर्वाचनमा अध्यक्ष पदको टिकट सुनिश्चित गर्न र कुनैपनि प्यानलमा नपरेपछि उपाध्यक्ष दोह¥याउन अध्यक्ष पदमै उम्मेदवारी दिएको भन्ने तपाइँमाथि आरोप छ नी, यो के हो ?
मैले विभिन्न संघसंस्थामा काम गर्न लागेको ३० वर्षभन्दा बढी भइसक्यो । जापानदेखि अमेरिकासम्म एनआरएनएबाहेक अन्य संस्थामा पनि काम गरेकी व्यक्ति हुँ-म । अहिलेपनि विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छु । सामाजिक संस्थामा काम गर्दा मैले कहिल्यैपनि बार्गेनिङ गरिन र गर्दिन पनि । यी सवै झुठा र कपिकल्पिक आरोप हुन् ।
अरु हुदाँ म किन नहुने महिला भएकै कारण अध्यक्ष हुन नपाईने भए एनआरएनएको विद्यानमै महिला अध्यक्ष उम्मेवादी दिन नपाईने भनेर बन्देज गर्नु पर्यो नत्र स्वभाविक रुपको महिलाहरुपनि अध्यक्ष हुन पाउनुपर्छ । डेमोक्रयाट पार्टीका सबै नेताको मलाई आर्शिवाद छ उहाँको चाहानापनि यसपटक महिना अध्यक्षमा ह्न् भन्ने नै छ । मलाई विश्वभरीका शुभेच्छुकको साथ र सहयोग छ । म नेतृत्व हाँक्न यसपालि नै तयारीका साथ उभिएको छु, अर्काे पटकको लागि होइन ।
उपाध्यक्ष पदमा रहेर सक्षमताका साथ मैले काम गरिसकेको छु । त्यही पदमा दोहोरिने चाहना छैन । मलाई कोहिसँग बार्गेनिङ गर्न जरुरी छैन । मलाई दोह¥याएर उपाध्यक्ष बन्नु छैन । यसपटकको एनआरएनएको नेतृत्व समाल्न महिलापनि भन्ने हो । अध्यक्षमा नै मेरो दावेदार रवीना थापाको मात्र नभएर समग्र गैरआवासीय नेपालीको माग हो ।
एनआरएनए स्थापनाकालदेखी नै तपाइँ सक्रिय हुनुहुन्छ, संघले हालसम्म गरेका उपलब्धि गरेका विषय के-के छन् ?
एनआरएनए स्थापना भएदेखि अहिलेसम्म धेरे काम भएका छन् । धेरै क्षेत्रमा एनआरएनएले उल्लेखनीय योगदान पुर्याएको छ । यस अवधिमा संस्थाको सञ्जाल संसारभरी पुगेको छ । विदेशमा रहेका लाखौं नेपालीको साहराको केन्द्र एनआरएनए बनेको छ । यो गौरवको विषय हो । अहिले विदेशमा बस्ने नेपालीले नागरिकता प्राप्त गर्न पाउने व्यवस्था अन्तिम चरणमा छ । नेपालमा १० अर्बको सामूहिक लगानी भित्र्राउन सबै कानूनी प्रावधान पूरा गरेर काम अगाडि बढेको छ । यो बाहेक विदेशमा आर्जन गरेका ज्ञान र सीपले जन्मभूमिलाई समेत योगदान पुर्याइरहेका छौँ ।
यूवा र विदेशमा जन्मेका दोस्रो पुस्तालाई देशसँग जोड्न विभिन्न काम भएका छन् । यस संस्थाको जुन सपना र उद्देश्यले स्थापना गरिएको थियो र पूर्वअध्यक्षहरूले जे-जति काम गर्नुभयो, उहाँहरु सबैप्रति मेरो उच्च सम्मान छ । पछिल्लो समयकाल खण्डमा नेपालमा आएका प्राकृतिक विपत्तिमा नेपाल सरकारको सारथीको रुपमा काम गरेका छौँ । नेपालका विपत्तिहरुमा सामाजिक रुपमा मात्रै होईन आर्थिक रुपमा समेत एनआरएनले ठूलो सहयोग गरेको छ । संस्था वृहत भएको छ कि, असम्भव भनिएका काम गर्न सम्भब र सक्षम पनि भएको छ । हामी सबैले यसलाई मुख्य उपलब्धी मान्नुपर्छ ।
तपाईं एनआरएनए केन्द्रिय महिला उपाध्यक्षमा हुनुहुन्छ, यो समयमा यूवा र महिलामा विभागको नेतृत्व लिएपछिका २ बर्षे कार्यकालमा तपाइँले गरेका उपलब्धी खास के–के छन् ?
उपाध्यक्ष भएपछि कोरोना महामारी सुरु भयो । धेरै समय हामीहरूले महामारीसँग जुध्नु प¥यो । यो अहिलसम्म कोरोनाको संकट समाप्त भइसकेको छैन । प्रतिकूल परिस्थितिकमा बीच २ वर्षे अवधिमा हामीले महत्वपूर्ण धेरै कामहरु गरेका छौँ । अघिल्लो कार्यसमितिले सूरु गरेका तर सम्पन्न हुन नसकेका काम यसपटक पूरा भएका छन् । यसको नमुना उदाहरण हो –लाप्राक प्रोजेक्ट ।
विश्वमा नै कोरोना महामारीको चरम अवधिमा विदेशमा समस्या परेका नेपालीलाई अविभावकत्व प्रदान गर्ने काममा एनआरएनएले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल सरकारभन्दा पहिले हामीले विपतमा परेका प्रवासी नेपालीहरुलाई सहयोग पुर्याएका थियौं । सरकार नपुगेको ठाउँमा एनआरएनएको बलियो उपस्थिति हुने गरेको छ । विदेशमा हामी र हाम्रो व्यावसाय आफैंमा समस्यामा भएको अवस्थामा विभिन्न जटिल परिस्थितिका विचमा नेपाल र नेपालीलाई बचाउन लाग्नुपर्छ भनेर करोडौंको स्वास्थ्य सामग्री विदेशबाट नेपाल पठायौं । सबै देशमा अभियान नै चलाएर अक्सिजन पठाएर आफन्तको ज्यान बचाउन सफल भयौं ।
कोभिड-१९ को कारण योजनामा रहेका केही काम भने अधुरा नै रहे । तर, काम धेरै भएका छन् । महामारीसँग जुधेर अगाडि बढ्नु हाम्रो लागि चुनौती थियो । आम मानसमा यसअघि धनीको संस्थाको रुपमा चिनिएको एनआरएनएलाई पैसा नभएको मान्छे एनआरएनएको नेतृत्वतहसम्म आउन सक्दैन भन्ने जुन भ्रम थियो, त्यसलाई चिर्न सफल भएका छौं । अहिले सक्षम र बौद्धिक वर्ग जोसुकै पनि संस्थामा अटाउने वातावरण सिर्जना भएको छ । यसलाई पनि उपलब्धी मान्न सकिन्छ ।
एनआरएनएमा यूवा वर्गको आकर्षण न्यून प्रायः छ, झन् त्यसमा पनि महिला सहभागिता ज्यादै न्यून छ । तपाईं आफै यूवा तथा महिला विभाग संयोजक, यस क्षेत्रमा सुधारका काम के–के भए ?
यूवा तथा महिला विभागको नेतृत्व गर्दै गर्दा धेरै कुरामा परिवर्तन भएको छ । यूवा तथा दोस्रो पुस्तालाई एनआरएनएमा आकर्षित तुल्याउन ‘एनआरएनए सिङ्गीङ आइडल’ जस्ता कार्यक्रमको आयोेजना भयो । यसले डायस्पोरामा सकारात्मक सन्देश छोडेको छ । खेलकुद क्षेत्रलाई अघि बढाउन विभिन्न योजना बनेका थिए तर कोभिडका कारण सबै लागु गर्न सम्भव भएन । बालबालिकाका लागि पनि काम भएको छ । महिलाको सवालमा धेरै काम भए । क्षेत्रगत हिसाबले समस्या पहिचान गरेर समाधानका लागि उपाय खोजीको काम भयो । विशेषत मानव तस्करीको चंगुलमा परेर रोजगारीको लागि खाडीमुलुक पुगेका महिला दिदीबहिनीको समस्यामा केन्द्रीत थियौं ।
संघलाई यूवा र महिला मैत्री बनाउन म जोडतोड्का साथ लागेँ । जसको महत्वपूर्ण उपलब्धी अहिले सबैको आँखा अगाडि छ । अहिले एनसीसीमा धेरै महिलाले अध्यक्ष पद जितेर आउनु भएको छ । पराजित भएका ठाउँमा पनि सशक्त मत पाउनु भएको छ । यसले के दर्साउँछ भने एनआरएनएमा महिलाको सहभागिता व्यापक हुँदै गएको छ । हाम्रो विश्लेषण अनुसार लगभग ३० प्रतिशत महिलाको सहभागिता भएको अनुमान छ । हिजोको अवस्थामा संघमा महिलाको सहभागिता ५ प्रतिशत मात्र थियो । यो एकदमै सुखद पक्ष हो । जसको श्रेय हामी सबैलाई जान्छ । संघमा महिला र यूवाको सहभागिता कम भएका कारण विधान संसोधन भएको छ । अहिले विभिन्न समिति तथा कार्यकारी पदमा यूवा तथा महिलाका लागि १५ वटा कोटा छुट्याइएको छ । यो ठूलो उपलब्धी हो । म यसलाई गर्वको विषय मान्छु । एनआरएनएमा यो नयाँ सुरुवात पनि हो । यो मेरो विभागले गरेको काम हो ।
अमेरिकालगायत अन्य धेरै देशमा प्रतिनिधि छनोटको विषयमा विवाद देखियो । यो विषय कसरी सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ ?
विवाद देखिएको छ, एनआरएनए भनेको सामाजिक संस्था हो । सामाजिक संस्थामा विवाद निम्त्याउनु हुँदैन । यसले राम्रो सन्देश जादैन । एनआरएनएको प्रतिनिधि छनोट सम्बन्धलाई लिएर विधानमा स्पष्ट किटान गरिएको छ । यस्ता विवाद आएको खण्डमा व्यक्तिले के भन्छ भन्दापनि विधान बमोजिम हुनुपर्छ ।
विगतका समयमा एनआरएनएको चुनावमा राजनीतिक दलको समर्थनको लविङ भएको देखिन्छ । तपाइँ पनि डेमोक्रयाट विचारधाराबाट प्रभावित हुनुहुन्छ भन्ने छ ? राजनितिक दलको समर्थन कत्तिको छ ?
एनआरएनए विशुद्ध गैरराजनैतिक संस्था हो । यसमा राजनीतिक रङ मिसाइनु हुँदैन । म यस कुरामा क्लियर छु । एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । हो, म डेमोक्रयाट(कांग्रेस) हुँ । जन्मिदैं काग्रेस । बुवाको पालादेखि नै हाम्रो परिवार कांग्रेसी हो ।विपि कोइरालाले कांग्रेसको भारतमा पहिलो जनसम्पर्क समितिको स्थापनापछि मेरै सक्रियतामा दोस्रो जापान र तेस्रो अमेरिकाको जनसम्पर्क समितिको स्थापना गरेर संगठनको विस्तारको काम सक्रिय भएर काम गरेको थिए । विदेशमा पनि कांग्रेस निकट कै जनसम्पर्क समितिमा आबद्व भएँ । यहाँबाट मलाई धेरैले चिन्नु भयो, सामाजिक काम पनि धेरै गरियो । तर, एनआरएनएको जिम्मेवार पदमा आबद्व भएपछि राजनीतिमा सक्रिय छैन । सानैदेखि आबद्व भएकोले (कांग्रेस) सद्भाव हुनु स्वभाविक हो । त्यसैले मलाई जनसम्पर्क समिति र नेपालमा कांग्रेस निकट व्यक्तिले माया गर्नुहुन्छ ।
नेपाल आएका समयमा नेताहरुसँग भेटघाट हुन्छ, तर एनआरएनएमा चुनाव लड्न कहिले पनि नेतासँग टिकट माग्न गइन् । जरुरी पनि छैन । एनआरएनएको चुनाव लड्न नेपालका नेताले टिकट दिइरहनु आवश्यक छैन ।
पार्टी (कांग्रेस) बाट अहिलेसम्म केही मागेको छैन । बरु उल्टै सहयोग गरेकी छु । यत्ति हो, अहिले मैले उम्मेदवारी दिने भनेपछि उहाँहरू (कांग्रेसीहरू) ले मलाई आर्शिवाद दिनु भएको छ । मलाई यो स्वाभिक हो जस्तो लाग्छ । मैले पनि उहाँहरुले दिएको आशिर्वादलाई गह्रण गरेको मात्र हुँ । जनसम्पर्क समितिबाट पाउने माया र सद्भावको कुरा मात्र हो ।
अन्त्यमा, तपाईं आफै एक्लै लड्दै हुनुहुन्छ कि टिम पनि छ?
टिमको जहाँसम्म कुरा छ, गृहकार्य नभएको होइन, भएको छ । साथीभाइको सल्लाह बमोजिम संस्थाका लागि योग्य व्यक्ति मेरो टिममा हुनुहुनेछ । संस्थामा मैले पुर्याएको योगदानको मुल्यांकन यसपालि हुनेछ भन्नेमा म पूर्ण आशावादी छु । मलाई संसारभरका गैरआवासीय नेपालीले सहयोग गर्नुहोला । तपाईको भावना बमोजिम संस्थालाई गतिशिल बनाउन काम गर्नेछु ।






















