काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्स ६.३ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक साइबर हमलाको शिकार भएको छ । क्रिप्टो-अपराध क्षेत्रका विज्ञ तथा विश्लेषकहरूले यस चोरीलाई इतिहासकै सबैभन्दा ठूलो डिजिटल चोरीको रूपमा व्याख्या गरेका छन् ।
ब्लॉकचेन र क्रिप्टो-अपराध अध्ययन गर्ने अनुसन्धान संस्था ‘इलिप्टिक’का अनुसार यो घटना विश्व इतिहासकै जुनसुकै प्रकारका चोरीमध्ये सम्भवतः सबैभन्दा ठूलो हो । यो अघिल्लो वर्ष ड्युबाईस्थित बाइबिट एक्सचेन्जमा भएको १.५ अर्ब डलरको चोरीभन्दा चार गुणाभन्दा बढी ठूलो छ ।
इलिप्टिकका मुख्य वैज्ञानिक टम रोबिन्सनका अनुसार यसअघि सन् २००३ को इराक युद्धअघि सदाम हुसेनले इराकको केन्द्रीय बैंकबाट १ अर्ब डलर निकालेको घटनालाई ठूलो मानिन्थ्यो, तर बाइनान्सको यो चोरी त्योभन्दा ६ गुणाभन्दा बढी छ । कुल चोरी भएको ६.३ अर्ब डलरमध्ये २.५ अर्ब डलरभन्दा बढी त एउटै कारोबार मार्फत निकालिएको पाइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार ह्याकरहरूले बाइनान्सका क्रिप्टोग्राफिक प्राइभेट कि नै क्र्याक गरेका भने होइनन् । बाइनान्सका एक इन्जिनियरको ल्यापटप ह्याक गरी आन्तरिक प्रणालीमा घुसपैठ गरेर आक्रमणकारीहरूले पहुँच बनाएका थिए । त्यसपछि बाइनान्सकै आन्तरिक प्रणालीबाट स्वीकृत गराई इन्टरनेसँग जोडिएका ‘हट वालेट’ मा रहेको रकम ह्याकरको वालेटमा स्थानान्तरण गरिएको थियो ।
क्रिप्टो विश्लेषक संस्थाहरू टीआरएम र चेन एनालाइसिसले यो आक्रमण उत्तर कोरियाको राज्य-समर्थित कुख्यात ह्याकिङ युनिट ‘ट्रेडरट्रेटर’ले गराएको उच्च दाबीका साथ बताएका छन् । ट्रेडरट्रेटर उत्तर कोरियाको सैन्य जासुसी एजेन्सी अन्तर्गतको ‘लाजारस’ समूहबाट विकसित भएको शाखा हो ।
आर्थिक प्रतिबन्धका कारण रकमको अभाव झेलिरहेको उत्तर कोरियाली सरकारले आफ्नो बजेट र गतिविधिका लागि क्रिप्टो बजारमा लगातार ठूला चोरीहरू गर्दै आएको इतिहास छ ।
घटना सार्वजनिक भएलगत्तै बाइनान्सले प्रभावित सम्पत्ति फ्रिज गर्ने र रकम ट्र्याक गर्ने काम तीव्र पारेको छ, जसअन्तर्गत करिब ३ अर्ब डलर बराबरको सम्पत्तिको पहिचान तथा फ्रिज भइसकेको छ । यस प्रक्रियामा टिथर ले करिब १.५७ अर्ब डलर र सर्कल ले ८०० मिलियन डलरभन्दा बढी रकम फ्रिज गर्न सहयोग गरेका छन् ।
बाइनान्सका सह-संस्थापक यी हे र सह-कार्यकारी प्रमुख रिचर्ड टेङले प्रयोगकर्ताहरूको सम्पूर्ण रकम सुरक्षित रहेको र ह्याकिङबाट भएको शतप्रतिशत नोक्सानी बाइनान्सले आफ्नै कोषबाट ब्यहोर्ने स्पष्ट पारेका छन् । सुरक्षा जाँच र वालेट पूर्वाधार सुरक्षित गर्नका लागि बाइनान्सले अस्थायी रूपमा रकम जम्मा गर्ने र निकाल्ने सेवा भने स्थगित गरेको छ ।
यस घटनाको खबर सार्वजनिक भएसँगै क्रिप्टो बजारमा तत्काल नकारात्मक असर देखिएको छ । एसियाली कारोबारमा बिटकोइनको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेर छ हप्तायताकै तल्लो बिन्दु ७६ हजार ३६८ अमेरिकी डलरमा झरेको छ ।
विश्वभर ३३ करोड ५० लाख दर्ता भएका प्रयोगकर्ताहरू रहेको बाइनान्समा १६२.८ अर्ब डलर बराबरको सम्पत्ति सञ्चित रहेको छ भने दैनिक करिब ९५ अर्ब डलर बराबरको कारोबार हुने गर्दछ ।






















