काठमाडौं– धेरै वर्षपछि युक्रेनको खेर्सान शान्त छ । अमेरिकाको प्रयासमा अल्पकालीन युद्धविराम भएपछि यो शान्ति छाएको हो । यो युद्धविराम अहिलेको लागि दुईदिने मात्र हो । फ्रन्टलाइनको निसानामा रहेको सो स्थानका बासिन्दा टहल्न त बाहिर निस्कन्छन् । तर ध्यान भने आकाशतिर हेरेर टोलाइरहेका हुन्छन् ।
४२ वर्षीय ओल्गाले अहिले एकदम शान्त वातावरण भएको र खुसीयालीले विभोर भएको बताएकी छन् । युक्रेनकी मानव अधिकारवादी नेतृ डुमिट्रोभ लुबिनोनले केही दिन खेर्सान शान्त भएको बताए । उनले खेर्सानको अनुभव सुनाउँदै भने, ‘यो शरद ऋतुमा मानिसहरू बाहिर आउनु, घाममा टोलाउनु र मन बहलाउनुलाई ठुलो सपना पुरा भएको ठानिरहेका छन् ।’
अमेरिकी प्रथम महिला मेलिन्डा ट्रम्पको प्रयासका कारण यो युद्धविराम भएको हो । रुसको अधीनमा रहेको ओलिस्कीबाट डिनिप्रो नदीको बाटो हुँदै खेर्सान जान यो युद्धविराम भएको हो ।
ओलिस्कीमा रहेका मानिसहरूलाई बाहिर निकाल्ने योजना रहेको खाडीको बाटो सफा गर्ने प्रयास रुसले गरिरहेको छ । अहिले धेरैलाई खेर्सानमा मानवीय सहयताको अवलोकन गरिरहेका अमेरिकी पत्रकारको सुरक्षा पनि हो । यसैकारण ट्रम्पले युद्धविरामको प्रयास गरेकी हुन् ।

अहिले पनि रुसले आफ्नो शक्तिलाई परिष्कृत बनाउन लगातार हतियार र ड्रोन लैजाने काम गरिरहेको स्रोतले जनाएको छ । युक्रेन सेन्टरका विद्यार्थीका अनुसार उनीहरूले खेर्सानको २० किलोमिटर पर राडेन्सकमा सैन्य आधार तयार पारेको देखेका छन् ।
उनको अनुभवमा अहिले युद्धविराममा रमाइरहे पनि उनका शत्रुहरू यसलाई पूर्ण रूपमा उपयोग गरिरहेका छन् । रुसी सेनाले आफूलाई बलियो बनाउन सबै किसिमको यो समय र स्थानको उपयोग गरिरहेको उनको बुझाइ छ । उनको बुझाइमा युद्धविराम समाप्तिपछिको अवस्था विगतको भन्दा अझ धेरै खराब हुन सक्नेछ ।
विगतमा धेरै पटक युद्धविराम भए पनि युद्धविराम भङ्गका घटना पनि उत्तिकै भएका थिए । यस पटक भने कहीँकतै युद्धविराम अटेरका घटना भएनन् । प्रत्यक्षदर्शीका अनुसार अहिले मानिसहरू कफी पिउन जान थालेका छन् । सेलिङमा बस्न छाडेका छन् । यसैले सहर शान्त देखिएको छ ।

युलिया नाम गरेकी एक महिलाले आफ्नो अनुभव सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । धेरै दिनपछि डिपार्टमेन्टल स्टोरमा सामान किन्न जानु उनका लागि सपना झैँ लागिरहेको छ ।
सधैँ बमबारी भनिएको र जोखिमयुक्त घोषित सो क्षेत्रमा धेरै दिनपछि मानिसहरूले आफन्तसँग भेट गर्न पाए । उनीहरूको मनमा अर्को भाव पनि छ । कुन दिन मरिहाल्ने हो कि भन्ने डर पनि छ । धेरै पटक मृत्युको मुखबाट निस्केका उनीहरूलाई कमसेकम यो दुई दिन मस्त रमाउन मन छ ।
एउटै परिवारका धेरै पुस्ताका धेरै जना एकै पटक हात समाएर सुटकेस लिएर घर फर्किएको दृश्य साँच्चै हेर्न लायक थियो । यसले धेरैलाई भावविभोर बनाएको थियो ।
एन्जेला डोबोरोस्काका श्रीमान् दुई वर्षअघि मारिएका थिए । युद्धमा मारिएका श्रीमान्लाई अन्तिम श्रद्धाञ्जली दिन उनी किभबाट खेर्सान जान लागेकी हुन् ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यस समयमा खेर्सानको जनसङ्ख्या २ लाख ५० हजार थियो । अहिले घटेर ६५ हजार भएको छ ।
यसरी लगातारको युद्धको समयमा नागरिक जीवन बढी सङ्घर्षबाट चलेको थियो । विद्यालय, थिएटर, किन्डर गार्डेन र विद्यालय जमिनमुनि नै सञ्चालन भए । संसारभरका धेरै सेनाले भन्दा बढी युद्धका अनुभव खेर्सानका सामान्य बासिन्दाले पनि गरेका छन् ।
आफ्ना दुई बच्चालाई हुर्काएको महसुस गरेकी ओल्गाको फरक अनुभव छ । लगातारको बमबारी, ड्रोन आक्रमण र साँझ पर्ने बित्तिकै अँध्यारोमा बस्नुपर्ने उनको जीवनको नियति नै बनेको थियो ।
अहिले ओल्गाले सामान्य जीवन बिताएकी छन्, रमाएकी छन् । आफन्तसँग भेट गर्न भ्याइनभ्याई छ । उनी जस्ता यसरी खुसी मनाउने खेर्सानमा हजारौं छन् । तर पनि यो क्षणिक हो ।
आइतबार युद्धविरामको समय सकिनेछ । सोमबारदेखि उही पीडाजन्य जीवनको सामना गर्नु छ । जहाँ फेरि मृत्युको भयलाई आत्मसात गरेर बाँच्नुको विकल्प छैन ।
युद्धविरामको अर्को प्रयास

यस युद्धका कारण दुवै पक्षको क्षति भएको छ । खासगरी धेरै जनाले अनाहकमा ज्यान गुमाए र बाँचेकाहरू समेत खुसीले बाच्न सकेका छैनन् । अमेरिकाले बारम्बार दुवै पक्षलाई युद्धविरामको दबाब दिएपछि फेरि युद्ध अन्त्य गर्न वार्ताको मिति तय भएको छ ।
अुबधाबीमा अमेरिकासहितको त्रिपक्षीय वार्ता नोभेम्बर १० मा सुरु हुँदैछ । यसले पनि युद्ध अन्त्यको ग्यारेन्टी छैन । युक्रेनको मूल विषय विस्थापितको पुनःस्थापना हुनेछ ।
रुसको चासो धेरै युक्रेनी जमिनमा आफ्नो पकड राख्ने हुनेछ । यसबाहेक अर्को मूल विषय युद्धविरामपछि रुसले फेरि आक्रमण गर्ने छैन भन्ने कुराको ग्यारेन्टी हो । यसका लागि युक्रेन नाटोको साथ चाहन्छ । रुस यो मान्न तयार छैन । युरोप यो सहमतिमा आफ्नो उपस्थिति चाहन्छ । अमेरिका युरोपेली युनियन बाहेकको सहमति चाहन्छ ।
यी यावत समस्या युद्धविरामका लागि भए पनि युद्धविराम भन्दा राम्रो विकल्प हुन सक्दैन । खेर्सानको यो सुख सोमबार सकिनेछ । खेर्सान होइन, सबै युद्धरत क्षेत्रमा रहनेको दीर्घकालीन खुसी अहिलेको आवश्यकता हो ।
-बीबीसी, पोलिटिकोलगायतको सहयोगमा


मनोज घिमिरे 



















