काठमाडौं – विश्वव्यापी मानवीय सहायता प्रणालीलाई प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने अन्तर्राष्ट्रिय पहल ‘ग्रान्ड बार्गेन’को ग्लोबल एम्बेसडरमा जगन चापागाईं चयन हुनुभएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी) का महासचिव चापागाईंलाई स्विट्जरल्यान्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ को वार्षिक सम्मेलनले सर्वसम्मत रूपमा उक्त जिम्मेवारी दिएको हो ।
यससँगै चापागाईं ‘ग्रान्ड बार्गेन’को ग्लोबल एम्बेसडर बन्ने पहिलो नेपाली हो । उनले आगामी दुई वर्ष विश्वव्यापी मानवीय सहायता प्रणालीको सुधार, स्थानीय संस्थाको भूमिका सुदृढीकरण र सहायता स्रोतको न्यायोचित वितरणका लागि पैरवी गर्ने जिम्मेवारी सम्हाल्नेछ।
यसअघि सन् २०२३ देखि २०२६ सम्म मलेसियाकी डा. जेमिला महमुद, स्विट्जरल्यान्डका म्यानुएल बेस्लर र युरोपेली सङ्घका माइकल कोहलरले सामूहिक रूपमा यो जिम्मेवारी निर्वाह गरेका थिए ।
दोस्रो कार्यकालमा आईएफआरसीको महासचिव
चापागाईं सन् २०२० मा पहिलोपटक आईएफआरसीको महासचिव नियुक्त हुनुभएको थियो । उ अहिले दोस्रो कार्यकालमा छ । नयाँ जिम्मेवारीसँगै विश्वव्यापी मानवीय सहायता सुधारको बहसमा नेपालको प्रतिनिधित्व गर्ने अवसर थप फराकिलो भएको छ ।
ग्लोबल एम्बेसडरको जिम्मेवारी आईएफआरसीको महासचिवको भूमिकाभन्दा अलग र ग्रान्ड बार्गेन समुदायका तर्फबाट निष्पक्ष रूपमा निर्वाह गर्ने चापागाईंले बताएको छ ।
“सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस तथा रेडक्रिसेन्ट र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य र साझा प्रतिबद्धतालाई बलियो बनाउने भूमिका निर्वाह गर्नेछु,” उनले भने ।
प्रतिबद्धताभन्दा कार्यान्वयनमा जोड
ग्लोबल एम्बेसडरका रूपमा चापागाईंले मानवीय सहायता क्षेत्रमा यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभएको छ । उहाँले स्थानीय तहमा देखिएका समस्या सुन्ने, समाधान गर्न सक्ने निर्णयकर्तासम्म ती विषय पुर्याउने र प्रतिबद्धता कार्यान्वयन भए–नभएको निरन्तर अनुगमन गर्ने कार्यशैली अपनाउने जनाएको छ ।
उहाँले नयाँ रणनीति र थप प्रतिबद्धता घोषणा गर्नुभन्दा पहिल्यै गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ । साथै, स्थानीय समुदाय तथा मानवीय सङ्कटका बेला अग्रपङ्क्तिमा खटिने संस्थाका अनुभव र आवाजलाई विश्वव्यापी निर्णय प्रक्रियासम्म पुर्याउने उहाँको प्राथमिकता हुनेछ ।
“हाम्रो सफलताको मापन बैठक कोठामा हामीले कति प्रतिबद्धता गर्यौँ भन्नेबाट होइन, मानिसले आफ्नो दैनिक जीवनमा वास्तविक परिवर्तन महसुस गरे कि गरेनन् भन्नेबाट हुनेछ,” चापागाईंले भने ।
उहाँले मानवीय सहायता वितरणसम्बन्धी निर्णय प्रक्रियामा स्थानीय तथा राष्ट्रिय संस्थाको सहभागिता बढाउन र सहायता आवश्यक भएका समुदायसम्म स्रोत प्रभावकारी रूपमा पुर्याउन पैरवी गर्ने बताएको छ ।
के हो ग्रान्ड बार्गेन?
‘ग्रान्ड बार्गेन’ सन् २०१६ मा सम्पन्न विश्व मानवीय शिखर सम्मेलनपछि सुरु गरिएको विश्वव्यापी मानवीय सहायता सुधार पहल हो । यसको मुख्य उद्देश्य मानवीय सहायता प्रणालीलाई प्रभावकारी, दक्ष, समान र जवाफदेही बनाउँदै सङ्कटबाट प्रभावित मानिस तथा समुदायसम्म सहायता रकम र निर्णय गर्ने अधिकार प्रभावकारी रूपमा पुर्याउनु हो ।
यस पहलले दाता, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय संस्था तथा स्थानीय र राष्ट्रिय मानवीय संस्थाबीच सहकार्यको ढाँचा सुधार गर्ने लक्ष्य राखेको छ । प्रशासनिक प्रक्रियामा हुने खर्च घटाएर उपलब्ध स्रोतको ठूलो हिस्सा प्रत्यक्ष रूपमा प्रभावित समुदायसम्म पुर्याउने र स्थानीय संस्थाको नेतृत्व तथा क्षमता बढाउने विषय यसका प्रमुख प्राथमिकतामा पर्छन् ।
दस वर्षपछि ग्रान्ड बार्गेन नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ । सन् २०२७ जनवरीदेखि यो ‘कलेक्टिभ एक्सन प्लेटफर्म फर द ग्रान्ड बार्गेन’ (सीएपी–जीबी) का रूपमा अघि बढ्ने जनाइएको छ । नयाँ संरचनाले गुणस्तरीय वित्तीय सहयोग, स्थानीयकरण र समान साझेदारीमा जोड दिनेछ । प्रभावित समुदायप्रतिको जवाफदेहिता र लैङ्गिक समानतालाई पनि सबै क्षेत्रमा समेटिने विषयका रूपमा कायम राखिएको छ ।




















