images
images
  • नेपालगञ्जमा डेढ महिनामै बाँदरको आक्रमणबाट ४० जना घाइते

    काठमाडौं– नेपालगञ्जमा बाँदरको आक्रमणबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा तथा घरमै पसेका बाँदरको आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका हुन् ।

    भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका घटनाबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा जनावरजन्य टोकाइका १ हजार ३६ जना उपचारका लागि अस्पताल पुगेका छन् ।

    तीमध्ये सबैभन्दा धेरै कुकुरको टोकाइबाट ८६५ जना घाइते भएका छन् । यस्तै बिरालोको टोकाइबाट ११०, बाँदरको आक्रमणबाट ४० र मुसाको टोकाइबाट २१ जना उपचारका लागि पुगेका छन् ।

    यस अवधिमा भेरी अस्पतालमा सर्पदंशका ११८ जना बिरामी पनि उपचारका लागि आएका छन् । त्यस्तै कीराको टोकाइबाट चार जना र टोक्ने जीवजन्तु पहिचान नभएका १९ जना उपचारका लागि पुगेका छन् ।

    बजार क्षेत्रमा बाँदरको नयाँ समस्या

    डा. चापागाईंले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भएर अस्पताल आउने घटना पछिल्लो समय देखिएको नयाँ समस्या भएको बताए । गाउँमा किसानलाई बाँदरले आक्रमण गर्ने घटना भए पनि बजार क्षेत्रमा घरघरमै पसेर मानिसलाई टोक्ने घटना बढ्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। नवीन दर्नालले बाँदरको टोकाइबाट घाइते भएकालाई जङ्गली जनावरको सम्पर्कमा आएको बिरामीका रूपमा उपचार गरिने बताए । उनीहरूलाई आवश्यकताअनुसार रेबिजविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

    चिकित्सकहरूले बाँदर देखिएमा लखेट्न वा जिस्क्याउन नहुने र आक्रमणमा परी घाइते भए तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images