काठमाडौं- सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा सोमवार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ जना किसानको करिब एक करोड १६ लाख रुपैँया
बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब ४ घन्टापछि आगो पूर्ण रूपमा निभाइएको थियो । लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो ।
प्रहरीका अनुसार उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
उखु प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ । चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल रु ६२० र सरकारी अनुदान रु ७० गरी रु ६९० आम्दानी हुने गर्छ । यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति रु एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको छ ।


विश्व खबर 



















