images
images
  • कुखुरा पालनमा कृषकहरूको लापरबाहीका कारण इकोलाई रोगको समस्या

    काठमाडौं- जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ ।

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो ।

    कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ ।

    उनका अनुसार मरेको कुखुराको कलेजोको नमुना परीक्षण गर्दा यो रोगको समस्या पहिचान भएको हो । उनका अनुसार दूषित पानीको प्रयोगले यो रोगको समस्या बढी देखिने गर्दछ ।

    यससँगै पाँच प्रतिशत कुखुरामा साल्मोनेला रोगको सङ्क्रमण देखिएको छ । यो रोग दूषित सामग्रीको प्रयोग, दाना र पानीको लसपसबाट सर्न सक्ने उनको भनाइ छ ।

    व्यावसायिक रूपमा कुखुरा पालन गर्ने किसानहरूले खानपानमा ध्यान नदिँदा यो रोगको सङ्क्रमण देखिएको हुनसक्ने प्रमुख श्रेष्ठले बताए ।

    कार्यालयले गरेको परीक्षणका क्रममा एभिएन इन्फ्लुन्जा, रानीखेत, गम्बारो, इन्फेक्सीयस ब्रोङ्गकाइटिस, चिकेन एनिमिया जस्ता रोगको सङ्क्रमण कुखुरामा देखिएको उनले जानकारी दिए ।

    कूल ९४ वटा कुखुराको परीक्षणका क्रममा १४ वटामा एभिएन इन्फ्लुन्जा, ३५ कुखुरा परीक्षणमा छ वटामा रानी खेत, ५३ कुखुरा परीक्षणमा २६ वटामा गम्बारो रोगको सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

    १८ वटा कुखुरामा इन्फेक्सीयस ब्रोङ्काईटीस परीक्षण गर्दा एउटामा र ९२ वटा कुखुरामा चिकन एनिमिया परीक्षणमा ३० वटामा यो रोगको सङ्क्रमण देखिएको हो ।

    चिकन एनिमिया इलाइजा प्रविधिबाट परीक्षण गर्ने गरिन्छ ।

    रानीखेत र गम्बारो भाइरसका कारण लाग्ने रोग हो । दुवै रोग जैविक सुरक्षा नअपनाउँदा लाग्ने रोग भएकाले कृषकहरूले जैविक सुरक्षाको विधि अपनाउनुपर्ने उनले बताए ।

    कार्यालयले कुखुराको परीक्षण पिसीआर विधिबाट सुरु गरेको छ । कुखुराको र्‍यालबाट एभिएन इन्फ्लुन्जा परीक्षण गर्ने गरिन्छ । यस प्रविधिबाट १४ वटा कुखुराको परीक्षण गरिएको उनले जानकारी दिए ।

    यो परीक्षणबाट बर्ड फ्लु जस्ता रोगहरू पत्ता लगाउन सहज हुने उनले बताए । जिल्लामा अहिलेसम्म कुनै पनि कुखुरामा बर्डफ्लु नदेखिएको उनको भनाइ छ । -रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images