images
images
  • जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा रवि र बालेनले लिनुपर्छ : एमाले सांसद भण्डारी

    काठमाडौं- नेकपा एमालेका कोशी प्रदेश सांसद रेवतीरमण भण्डारीले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको विध्वंस र त्यस क्रममा भएका मानवीय क्षतिको जिम्मेवारी रवि लामिछाने र बालेन शाहले लिनुपर्ने बताएका छन् ।

    कोशी प्रदेशसभाको मंगलबार बसेको विशेष समयमा बोल्दै भण्डारीले युवाहरूलाई ढाल बनाएर राजनीतिक स्वार्थ पूरा गर्न खोजिएको र देशलाई अस्थिरतातर्फ धकेलिएको आरोप लगाएका हुन् ।

    ‘शान्तिपूर्ण आन्दोलनको नाममा निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र आगो लगाउने र प्रहरीमाथि आक्रमण गर्ने कामको नेतृत्व कसले गर्‍यो ? निर्दोष विद्यार्थीहरूलाई स्कुल ड्रेसमै ढाल बनाएर अगाडि सार्ने र पछाडि बसेर विध्वंसको योजना बुन्नेहरूले यसको जवाफ दिनुपर्छ,’ सम्बोधनका क्रममा भण्डारीले भने ।

    उनले उक्त आन्दोलन र त्यसपछिको विकसित परिस्थितिका कारण करिब ७६ देखि ७८ जनाको ज्यान गएको दाबी गर्दै उनले ती निर्दोष मानिसहरूको मृत्युको जिम्मा कसले लिने ? भन्ने प्रश्न गरे ।

    ‘बालेन शाह र रवि लामिछानेले नेपाली जनतालाई यसको स्पष्ट जवाफ दिनुपर्छ । बिना जवाफ राष्ट्रको नायक बनेर हिँड्न पाइँदैन,’ उनले भने ।

    पूर्व मेयर बालेन शाहले काठमाडौं महानगरमा सुशासनको कुरा गरे पनि महालेखा परीक्षकको प्रतिवेदनले डरलाग्दो चित्र देखाएको भण्डारीले उल्लेख गरे ।

    ‘काठमाडौं महानगरपालिकाको २७ अर्बको अडिट हुँदा ६८ करोड रुपैयाँ बेरुजु देखिन्छ । त्यसमध्ये २८ करोड ५२ लाख त असुलउपर नै गर्नुपर्ने छ । के यो सुशासन हो कि कुशासन ?,’ उनले भने, ‘पाँच हजारमा बन्ने लोगोलाई साढे ३४ हजार रुपैयाँ तिरेर बनाइएको छ । एक वर्षमा बैठक भत्ता र चियाखाजामै डेढ करोडभन्दा बढी खर्च भएको छ, जसको कुनै प्रमाण छैन । प्रमाणबिना राज्यको ढुकुटी सिध्याउनेहरू कसरी नायक हुन सक्छन् ?’

    सांसद भण्डारीले काठमाडौँ महानगरले देशभर लागु भएको अनलाइन प्रणाली लागु नगरेर आर्थिक अपारदर्शितालाई प्रश्रय दिएको आरोप समेत लगाए ।

    ‘ताप्लेजुङको दुर्गम गाउँपालिकामा अनलाइन सिस्टम चल्छ, तर काठमाडौँमा मेयरले किन चल्न दिँदैनन् ? किनभने त्यहाँ आर्थिक अनियमितता लुकाउनु छ,’ भण्डारीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images