काठमाडौं- उदयपुरको कटारी क्षेत्रमा किसानहरूले सरकारी अनुदानको युरिया मल नपाइरहेका बेला सो क्षेत्रको मल सिन्धुलीको दुधौली बजारमा फेला परेको छ।
कटारी नगरपालिका-१४ का किसानका नाममा दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको युरिया मल दुधौली बजारका एक व्यापारीको गोदाममा बिहीबार साँझ फेला परेको हो।
कटारीका लागि ल्याइएको अनुदानको रासायनिक मल सहकारीमार्फत नै कालोबजारी हुँदै दुधौली पुगेको खुलेको छ।
कटारी बजारस्थित दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको मल तस्करी गरी दुधौली पठाइएको गोप्य सूचना पाएपछि किसान संघर्ष समितिका संयोजक गणेश थापाको नेतृत्वमा गएको टोलीले उक्त मल फेला पारी दुधौली प्रहरीको जिम्मा लगाएको हो।
कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काका अनुसार दुधौली बजारमा भेटिएको युरिया मल प्रहरीले जफत गरेको छ। साथै, कटारीका स्थानीय पेशल भट्टराई र हिरा बास्तोलाले सञ्चालन गर्दै आएको दुर्गा भवानी कृषि सहकारी संस्थाको सहकारी प्रमाणपत्र खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको छ।
उपप्रमुख खड्काले फेला परेको युरिया मलका विषयमा दुधौली प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिइन्। उनका अनुसार ५० केजीका २१६ बोरा युरिया मल बरामद भएको छ।
कटारीका किसानहरू मल नपाएर हैरान भइरहेका बेला सहकारी संस्थाबाटै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाइनु गम्भीर र रहस्यमय भएको किसान संघर्ष समितिको ठहर छ।


विश्व खबर 



















