images
images
  • दाङमा एक युवकमाथि खुकुरी प्रहार, सिरहाबाट हतियारसहित दुई युवक पक्राउ

    काठमाडौं । मंगलबार बिहान दाङको एक जिम क्लब भित्र एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

    मंगलवार बिहान साढे ६ बजेको समयमा तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई खुकुरी प्रहार गरेका हुन् ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको र खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    हतियारसहित दुई युवक पक्राउ

    हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो ।

    गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि गत आइतबार कटुवा पेस्तोलसहित सिरहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो । यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images