विराटनगर– जेन–जी आन्दोलनका क्रममा विर्तामोडमा प्रहरीले चलाएको गोली लागेर पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ ।
टाउकोमा चोट लागेका उनको बीएनसी अस्पतालमा उपचार भइरहेकोमा आज निधन भएको झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले पुष्टि गरेका छन् ।
यसअघि विर्तामोडकै झडपमा झापा अर्जुनधाराका गोपाल सेडाई, सुनसरीको इटहरीमा अभिषेक श्रेष्ठ र मोहन सरदारको ज्यान गइसकेको छ ।
कोशी प्रदेश प्रहरीका एसएसपी दीपक पोखरेलका अनुसार घाइते र क्षतिको विस्तृत तथ्याङ्क संकलन भइरहेको छ ।
भौतिक संरचनाको क्षति मूल्यांकनमा प्रहरी र नेपाली सेना संलग्न छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने क्षतिको विवरण तयार गर्ने प्रक्रिया अझै टुङ्गो नलागेको बताए ।
यसबीच, विराटनगरका जलेका सरकारी कार्यालयहरूमा फोहोर सफा गर्ने र क्षतिको विवरण संकलन गर्ने काम सुरु भएको छ ।
आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयसहितका कर्मचारी आजदेखि सरसफाइमा जुटेका छन् ।























