images
images
  • विप्लव नेतृत्वको नेकपाद्वारा सामुहिक रोपाइँ

    नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको गोरखा र लम्जुङ जिल्ला कमिटीले पालुङ्टारमा संयुक्त रोपाईँ गरेको छ । पालुङटार नगरपालिका ३ भण्डारथोक तल्लो सेराफाँटमा शनिबारबाट सुरु गरेको रोपाईँ आइतबार सम्पन्न भएको हो ।
    स्थानीय किसानसंग भाडामा लिएको ४५ रोपनी क्षेत्रफल खेतमा संयुक्त रोपाइँ गरेको गोरखा जिल्ला इञ्चार्ज कपिल भट्टले जानकारी दिए ।

    संयुक्त रोपाइँमा नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलसमेत सहभागी थिइन् ।
    ‘शनिबारबाट सुरु भएको रोपाईँ आइतबार सकियो । कञ्चन जातको धान लगाएका छौं’, जिल्ला इञ्चार्ज भट्टले भने, ‘तीनवटा ट्याक्टर र १०३ जना खेताला प्रयोग गरेर रोपाइँ गरियो ।’ कृषिलाई प्रविधिसंग जोड्ने, कृषिमा यान्त्रीकरण भित्र्याउने, उत्पादन बढाउने लक्ष्य पार्टीको रहेको उनको भनाइ छ ।

    संयुक्त रोपाइँका लागि स्थानीय किसानको जग्गा भाडामा लिएको जिल्ला इञ्चार्ज भट्टले बताए । ‘तीन जना किसानको काँस फुलेको बाँझो जग्गा रहेछ । बाँझो जग्गालाई हरियाली बनाउने भन्ने हाम्रो पार्टीको केन्द्रीय नीति पनि छ । त्यसैले त्यो जग्गा पनि हामीले खेती गर्न भनेर हामीले पाँच बर्षका लागि सम्झौता गरेर लियौँ’, उनले भने ।

    विप्लवले नेतृत्व गरेको नेकपाले पछिल्लो समय पार्टी केन्द्रीय समितिको नीतिअनुरुप देशका विभिन्न जिल्लामा त्यहाँको हावापानी, माटो अनुकूलको उत्पादनमा जोड दिएको छ । नेकपाले पशुपालन, माछापालन, अदुवा खेती, धानखेती लगायतका खेती गरिरहेको जनाएको छ । नेकपाले कृषि उत्पादनमार्फत आत्मनिर्भर र व्यापार व्यवसाय, उधोगधन्दा गरेर आत्मनिर्भरतामा जोड दिने नीति लिएको जनाएको छ ।

    ‘यो बर्ष ४५ रोपनीमात्र पायौँ । अझ हामी थप्दै जानेछौँ । धान मात्र पनि होइन, आलु लगायत अरु खेती पनि गर्नेछौं ।’ सिजनमा सेराफाँटमा आलु पनि खेती गर्ने योजना रहेको उनले बताए । कपिल सीका अनुसार, यसवर्ष नेकपाले देशभरि ठूलो क्षेत्रफलमा धान उत्पादन गर्ने तयारी गरेको छ ।

    ‘यो बर्ष देशभर तीनसय बिगाहामा धान खेती गर्दैछौँ’, उनले भने, ‘पाँचसय बिगाहामा धान खेती गर्ने हाम्रो लक्ष्य हो ।’ यहाँबाट उत्पादिन धान तथा चामल काठमाडौं, बुढानिलकण्ठमा पार्टीले सञ्चालन गरेको सीमार्टबाट बिक्री गर्ने योजना रहेको उनले बताए । ‘पार्टीका पूर्णकालीन कार्यकर्तालाई पनि दिनेछौं, सीमार्टमा राखेर पनि बेच्नेछौं’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images