काठमाडौं- इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ। युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने भएको हो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ।
बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलर बढ्ने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले युद्ध लम्बिँदै गयो भने रासायनिक मलको आपूर्तिमा समस्या हुनुका साथै मूल्यसमेत बढ्ने देखिएको जानकारी दिनुभयो। युद्ध कति लम्बिन्छ भन्ने अनिश्चित रहेको र लामो समयसम्म चलिरहे मलको आपूर्तिमा अवरोध भई मूल्य बढ्नुका साथै कोटा अनुसार मलसमेत ल्याउन नसकिने उनले जानकारी दिए।
यस वर्ष पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखिएको थियो। निरन्तर युद्ध बढ्दै गए मलको लागत महँगो पर्दा कोटा अनुसार मल ल्याउन नसकिने देखिएको मन्त्रालयले जनाएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विटल चार सय अमेरिकी डलर रहेको युरिया नेपाल आइपुग्दा ५०० अमेरिकी डलर पर्ने गरेको छ।
यस्तै नेपाल आइपुग्दा प्रतिक्विन्टल डीएपी ९०० अमेरिकी डलर पर्ने गरेको छ। इरानमा युरिया उत्पादन हुने भएकाले पनि युद्धका कारणले उत्पादनमा समेत असर पर्ने देखिएको छ।
यसैबिच असार महिना लागेसँगै धान रोपाइँ सुरु भएकाले मलको खपत बढ्न थालेको छ। मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक तीन सयदेखि चार सय मेट्रिक टन मल बिक्री हुँदै आएकामा हाल दैनिक एक हजार मेट्रिक टनदेखि दुई हजार मेट्रिक टनसम्म मल वितरण हुन थालेको छ।
मलको आपूर्ति नियमित रूपमा भइरहेकाले तत्काल बजारमा मलको अभाव नभएको मन्त्रालयले जनाएको छ। धानबालीमा मलको प्रयोग धेरै हुने हुँदा बजारमा मागसमेत बढ्छ। हाल ३४ हजार मेट्रिक टन युरिया कोलकाताबाट नेपाल आउने क्रममा रहेको र ५२ हजार मेट्रिक टन युरिया उत्पादक मुलुकबाट नेपाल आउनका लोडिङ हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै ३० हजार मेट्रिक टन डिएपी चीनबाट नेपाल आउन लोडिङ हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ। धानको सिजनका लागि युरिया पुग्ने भए पनि डीएपी भने अपुग हुने देखिएको मन्त्रालयले जनाएको छ।


विश्व खबर 



















