बागलुङ : ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा मालिकाका महिलालाई बाख्राका पाठी वितरण गरेको छ।
नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ ।
आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन्।
शुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा १०४ पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ। उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरेका थिए ।
उनका अनुसार, मालिकाको उच्च भेगका विभिन्न वडामा बाख्रापालनको निकै सम्भावना छ। ‘परम्परागत रूपमा बाख्रापलान नभएको होइन, व्यावसायिक बन्न खोर सुधार तथा बाख्राको स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ’, उनले भनिन्, ‘बाख्राको पाठामात्रै दिँदैनौँ, बाख्रापालनको सीप, खोर सुधार र आयआर्जनको रकम बचत गर्न सिकाउँछौँ।’ नगरपालिकाका १४ मध्ये १० वडामा यो कार्यक्रम सञ्चालनमा आएको छ ।
कार्यक्रमबाट दुई वर्षमै २०८ महिला लाभान्वित भएका छन्। उनीहरूलाई बाख्रापालनका लागि बिउपुँजीबाट सहयोग मिलिरहेको छ। समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।
महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बिउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको भन्दै अन्य पालिकामा महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले बताइन्।


विश्व खबर 



















