विश्व अर्थ व्यवस्था (World Economy) गतिशील छ। यो कहिलै पनि स्थिर नरहेको इतिहास छ। सन् १९२९ मा प्रारम्भ भएर सन् १९३९ मा समाप्त भएको विश्व आर्थिक मन्दीले विश्व अर्थ व्यवस्थालाई अति नराम्रो प्रभाव पारेको थियो। यो महामन्दीले संयुक्त राज्य अमेरिका लगायत संयुक्त अधिराज्य, जर्मनीलाई भने ज्यादै नराम्रो प्रभाव पारेको थियो। यो महामन्दीको समयमा संसारभरि बेरोजगारी अभूतपूर्व किसिमले वृद्धि भएको थियो। गरीबी द्रूततर गतिमा विस्तार भएको थियो। लाखौं मानिस भोकभोकै बस्नुपर्ने स्थिति सृजना भएको थियो। लाखौले आफ्नो सम्पत्ति गुमाएका थिए। कुनै समय विश्व अर्थ व्यवस्थामा यस्तो उथलपुथल भएको थियो। विश्व अर्थ व्यवस्था नै नराम्री हल्लिएको थियो।
उत्पादन, रोजगार र राष्ट्रिय आयलाई महामन्दीले संसारभरि नै गहिरो प्रभाव पार्ने भएकोले आउने समय वा वर्षमा विश्व अर्थ व्यवस्था कस्तो हुनेछ भने अनुमान गरिन्छ, भविष्यवाणी गरिन्छ। यस किसिमको भविष्यवाणीले महामन्दीको समाना गर्न लिनुपर्ने उपायहरू पत्ता लगाउन सजिलो हुन्छ।
सन् २०१९ मा प्रारम्भ भएको कोभिड– १९ पेन्डेमिकले पनि विश्व अर्थ व्यवस्थालाई नराम्ररी हल्लाइदिएको थियो। सन् २०२० सम्म चलेको उक्त पेन्डेमिक लामो कालसम्म भने रहेन। विश्व अर्थ व्यवस्थाको लागि यो सुखद कुरा थियो। न्यूनरूपमा भए पनि त्यसको असर भने अहिले पनि कायम नै छ। कोभिड –१९ पेन्डेमिकले पनि विश्व अर्थ व्यवस्थालाई, छोटो समयको लागि भए तापनि, ज्यादै नराम्ररी प्रभावित पारेको थियो।
सन् २०२२ मा रूसले ठूलो अनुपातामा युक्रेनको भूमिमा गरेको आक्रमणले रूस र युक्रेनलाई प्रत्यक्षरूपमा युद्धमा तान्यो नै, विश्वका अनेक राष्ट्रलाई समेत उक्त युद्धमा अप्रत्यक्षरूपमा तान्यो। अहिले रूस–युक्रेन युद्धले केवल रूस र युक्रेनलाई मात्र प्रभावित गरेको छैन, ती देशहरूका अर्थ व्यवस्थालाई मात्र सुस्त पारेको छैन, विश्व अर्थ व्यवस्थालाई नै सुस्त पारेको छ। युक्रेनलाई विश्व खाद्य भण्डार मानिन्छ भने रूसले ठूलो परिमाणमा युरोपका देशहरूलाई ऊर्जा निर्यात गर्छ। यी दुवै देशको विश्व अर्थ व्यवस्थामा ठूलो योगदान छ। तर दुःखको कुरा, यी दुर्ई राष्ट्र युद्ध गरिरहेका छन्। यो युद्ध कहिले समाप्त हुने हो कुनै टुङ्गो छैन।
युद्ध, महामारी, खडेरी, महामन्दी आदिले विश्व अर्थ व्यवस्थाको स्थितिमा यसरी परिवर्तन ल्याउने गर्दछन्। यो परिवर्तनलाई रोक्न भने सकिंदैन। केवल असर कम पार्ने उपाय पत्ता लगाउन सकिन्छ।
युद्धविरामका लागि हमास र इजराइली पक्षबीच अहिले वार्ता चलिरहे तापनि ‘गाजा युद्धविराम’ ले सफलता पाएको खबर, यो आलेख तयार पार्दासम्म, प्राप्त हुन सकेको छैन। फिलिस्तिन–इजराइल युद्ध तत्काल समाप्त हुने सङ्केत देखिएको छैन। फिलिस्तिन–इजराइल युद्धले मध्य पूर्वका देशहरू र मुख्यगरी फिलिस्तिनी र इजराइली अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारिरहेको छ। भविष्यमा थप नराम्रो प्रभाव पार्नेछ। मुख्यगरी फिलिस्तिनलाई अति नराम्रो प्रभाव पारेको छ। यो युद्धमा फिलिस्तिनी अर्थ व्यवस्था लगभग ध्वस्त नै भएको छ। ४६ हजारभन्दा बढी फिलिस्तिनीहरूको ज्यान लिने यो युद्धले फिलिस्तिनी क्षेत्रमा रहेका भौतिक संरचनाहरू पनि ठूलो सङ्ख्यामा ध्वस्त पारेको छ। फिलिस्तिनी अर्थ व्यवस्था उठ्न कठिन हुनेगरी लडेको छ। यता अमेरिकामा भएको प्रशासन परिवर्तनले पनि विश्व अर्थ व्यवस्थामा नयाँ अनिश्चितता थपेको छ। निकट भविष्यमैं अमेरिकी राष्ट्रपति पदको लागि शपथ लिने डोनाल्ड ट्रम्प र उनको प्रशासनले चीनसँगको व्यापारिक सम्बन्धलाई कस्तो किसिमले अगाडि बढाउने हो भन्नेबारे स्पष्ट सङ्केत आउन सकेको छैन। हाल अमेरिका र क्यानाडाको पनि व्यापारिक सम्बन्ध सुमधुर छैन। विश्वकै प्रथम आर्थिक महाशक्ति मानिएको संयुक्त राज्य अमेरिकाको आर्थिक स्थितिले विश्व अर्थ व्यवस्थालाई प्रभावित गर्ने कुरामा दुर्ई मत हुन सक्तैन।
सन् २०२५ मा भारत र इन्डोनेशियाको आर्थिक स्थिति राम्रो हुने अनुमान गरिए तापनि चीनको आर्थिक विकासको गति केही सुस्त हुने अनुमान गरिएको छ। छिमेकीसँगको बढ्दो व्यापार विवाद र जनसङ्ख्या वृद्धि दरमा कमीजस्ता समस्याहरू चीनको आर्थिक वृद्धिको लागि तगारो हुने देखिएको छ।
माथि वर्णन गरिएका कारण र स्थितिहरूलाई हेर्दा सन् २०२५ मा विश्व अर्थ व्यवस्था राम्रो हुने देखिंदैन। खराबै भएर नजाने भए तापनि विश्व अर्थ व्यवस्थाले राम्रो प्रगति गर्ने स्थिति देखिंदैन।
विश्व अर्थ व्यवस्थामा सुधार आउनका लागि तीन कुरा हुन आवश्यक छ। पहिलो हो, रूस–युक्रेन बिचको युद्ध समाप्त हुनु पर्छ। दोस्रो हो, इजराइल र फिलिस्तिनबीचको युद्ध समाप्त हुनुपर्छ। तेस्रो हो, अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध सुमधुर हुनुपर्छ। यी तीन कुरा सकारात्मक दिशामा अगाडि बढ्यो भने विश्व अर्थ व्यवस्थामा राम्रो सुधार भने आउन सक्छ।
निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रो वार्ताकार भन्नेहरूको सङ्ख्या ठूलो छ। ट्रम्पलाई राम्रो वार्ताकार भन्नेहरूको यो विश्वास छ कि उनको कार्यकालयमा युक्रेन–रूस युद्ध समाप्त हुनेछ। इजराइल र फिलिस्तिनबीचको युद्ध पनि समाप्त हुनेछ। ट्रम्प–प्रशासनले चीन र अमेरिका बीच सम्बन्धमा पनि राम्रो सुधार ल्याउने छ। अमेरिका र क्यानाडाबीचको व्यापारिक सम्बन्ध सुधारको दिशातर्फ अग्रसर हुनेछ। आशा गरौं त्यस्तै होला।
सन् २०२५ मा विश्व अर्थ व्यवस्थामा २.८ प्रतिशतले वृद्धि हुने भनी संयुक्त राष्ट्र सङ्घले अनुमान गरेको छ। यो अनुमान सन् २०२४ को भन्दा कम छ। सन् २०२४ मा विश्व अर्थ व्यवस्थामा ३.१ ले वृद्धि हुने अनुमान गरिएको थियो। आउने समयमा विश्व अर्थ व्यवस्थामा राम्रो सुधार हुनेबारे सम्बन्धित पक्ष पनि आशावादी रहेको देखिंदैन।
बाँकी कुराहरू समयले नै देखाउने छ। सन् २०२५ मा विश्व अर्थ व्यवस्था राम्रो हुन पनि सक्छ। तर वर्तमान स्थिति हेर्दा सन् २०२५ मा विश्व अर्थ व्यवस्थामा राम्रो सुधार आउने लक्षण भने देखिएको छैन। आशा गरौं सन् २०२५ मा विश्व अर्थ व्यवस्थमा थप सुधार होस्। विश्व–गरीबी कम होस्। रोजगारका लागि ठूलो सङ्ख्याको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्थानान्तरणमा कमी आओस्।
प्रतिक्रिया दिनुहोस्