images
images
  • जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव): सत्तापक्ष न प्रतिपक्ष !

    काठमाडौं-१ र २ माघमा क्रमशः मधेश केन्द्रित दल र समाजवादी मोर्चाको बैठक काठमाडौंमा बस्यो । ती दुवै बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) उपस्थित भएन ।

    अध्यक्ष यादव दुवै बैठकमा न आफू गए, न त पार्टीका कोही प्रतिनिधिलाई नै पठाए । यादवले ती दुवै बैठक बहिस्कार गरेका हुन् कि भन्ने अड्कल पनि गरियो । यी दुवै बैठकमा एकसाथ उपस्थित नभएपछि यादवले मधेश केन्द्रित दलहरूले बनाउन लागेको मोर्चा र पहिला आफू पनि सहभागी भएको समाजवादी मोर्चालाई छाडेर अर्को मोर्चा त बनाउन लागेका होइनन् भन्ने आशंका पनि राजनीतिक वृत्तमा बढेको छ ।

    २ माघमा बसेको समाजवादी मोर्चाको बैठकमा यादवको तीव्र प्रतीक्षा थियो । बैठकमा आउन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यादवलाई आफैं जानकारी गराएका थिए । बैठक बस्यो तर यादव गएनन् । यति मात्र होइन, ४ माघमा समाजवादी मोर्चाले गरेको पत्रकार सम्मेलनमा पनि उनी अनुपस्थित भए । मोर्चाको अर्को बैठक १६ माघमा बस्दै छ । त्यो बैठकमा पनि उनी सहभागी नहुने सम्भावना छ ।

    ‘समाजवादी मोर्चाको हामी प्रमुख घटक थियौं तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वासघात गर्नुभयो’, यादवले मध्यान्हसँग भने । ‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र हामी समाजवादी मोर्चामा थियौं तर उहाँले हाम्रो दललाई तोड्ने र फुटाउने काम गर्नुभयो । अब हामी मोर्चामा जान सक्दैनौं, जाने अवस्था पनि छैन । प्रचण्डजी धोकेबाज हुन्’, उनले भने ।

    प्रचण्डले सत्ताको खेलमा लागेर आफ्नो पार्टीलाई फुटाएर कमजोर बनाउन खोजेको गुनासो यादवको छ । ‘मोर्चामै सम्मिलित दललाई विभाजित गरेर प्रचण्डले सत्ता स्वार्थ पूरा गर्न खोजेको बुझाइ यादवको छ ।

    कांग्रेससहितको सत्ता गठबन्धन टिकाउन प्रचण्डले रणनीतिक रूपमा समाजवादी मोर्चा गठन गरेका थिए । माओवादी केन्द्र, नेकपा एस, जसपा नेपाल, नेपाल समाजवादी पार्टी (महिन्द्र यादव) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मोर्चामा थिए ।

    मार्चामै रहँदा अशोक राईको नेतृत्वमा जसपा बन्यो । पार्टी फुटका कारण यादवले प्रचण्डलाई मानेका छन् । पार्टी फुटेपछि यादव अघोषित रूपमा समाजवादी मोर्चाबाट बाहिरिएका हुन् । तर, प्रचण्ड र नेपाल यादवलाई फकाएर मोर्चामा फेरि जोड्ने भगीरथ प्रयासमा छन् । ‘प्रचण्डले पिठ्युँमा छुरा रोप्नुभयो । उहाँसँग बस्ने र समाजवादी मोर्चामा रहेर काम गर्ने स्थितिमा जसपा नेपाल छैन’, यादव भन्छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड दाउपेचको राजनीति गर्ने चतुर अवसरवादी खेलाडी भएको जसपाको ठहर छ । सरकार ढलेपछि प्रचण्डले शक्ति आर्जन गर्न सबैतिर हेरफेर गरिरहेको र आफ्नो पार्टी फुटाएको बारे प्रचण्डले स्वीकार गरिसकेको दाबी अध्यक्ष यादवको छ ।

    अध्यक्ष यादवले आफू समाजवादी मोर्चामा नभएपछि मधेश केन्द्रित दलहरूबीच गरिने मुद्दामा सहकार्य गर्न तयार रहेको बताए । मधेश केन्द्रित दलहरूबीच एकता र मोर्चाबन्दी गर्ने पक्षमा आफू रहेको उनी बताउँछन् । अधिकार, पहिचान, समावेशिता, संघीयता मधेश केन्द्रित दलहरूको प्रमुख एजेन्डा भएको उनको भनाइ छ ।

    मधेशका मुद्दामा सहकार्य गर्ने बताइरहँदा १ माघमा बसेको मधेश केन्द्रित दलहरूको बैठकमा उनी किन अनुपस्थित भए त रु यसले उनको दोहोरो भूमिका देखिएको आशंका पनि गरिँदै छ । उक्त बैठकमा न आफैं सहभागी भए, न त पार्टीका तर्फबाट अरू कसैलाई पठाए । यद्यपि, बैठक बहिस्कार गर्ने नीति आफ्नो दलको नभएको यादवको भनाइ छ ।

    न सत्तापक्षका, न त प्रतिपक्षका

    समाजवादी मोर्चा र मधेश केन्द्रित दलहरूको बैठक एकैसाथ ‘बंक’ गरेर उनले आफू ‘सत्तापक्षीय न प्रतिपक्षीय’ भएको संकेत गरेका छन् । मधेशमा एउटै मोर्चा बनाउन बोलाइएको बैठकमा उनी सहभागी नहुनुलाई कतिपयले उनको अलग्गै रणनीति रहेको पनि बुझेका छन् ।

    यादव भन्छन्, ‘हामी न सत्तापक्षीय हो, न त प्रतिपक्षीय । अहिले हामी मध्यबिन्दुमा उभिएका छौं ।’ ‘मधेश केन्द्रित दलहरूको बैठक बहिस्कार गरेको होइन’, स्पष्ट पार्दै उनले भने, ‘माघे संक्रान्ति भएका कारण को कता परे, कता गए ।’

    जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको पहलक९दमीमा मधेश केन्द्रित दलहरूको बैठक बोलाइएका कारण त्यहाँ आफ्नो भूमिका गौण हुने देखेर यादव अनुपस्थित भएको हुन सक्ने विश्लेषण पनि गरिएको छ । त्यसपछि बसेको सत्तापक्षीय मधेश केन्द्रित दलहरूको बैठकमा जसपा नेपाललाई बोलाइएको थिएन ।

    २०७९ सालको निर्वाचनपछि जसपा नेपाल विभाजित भई अशोक राई, इस्तियाक राईलगायत नेताहरूले जसपा निर्माण गरेपछि यतिबेला जसपा नेपाल र जसपाका नेताहरूबीच पानी बाराबारको अवस्था छ । यतिबेला राई नेतृत्वको जसपा सरकारमा छ । पार्टीबाट नवलकिशोर साह र प्रदीप यादव सरकारमा छन् । तर, जसपा नेपालले बाहिरबाट सरकारलाई समर्थन गरेको छ ।

    चौतर्फी घेराबन्दीमा

    २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालले १२ सिट ल्याएको छ । त्यसको डेढ वर्षपछि पार्टी फुटेर हाल ५ सिटमा सीमित छ । यसबाट यादवको पार्टी कमजोर हुँदै गएको देखिएको छ जबकि २०७४ सालमा जसपासँग १९ सांसद थिए ।

    जसपा नेपाल अहिले चौतर्फी घेराबन्दीमा छ । यादवलाई अहिले अध्यक्ष प्रचण्डले पनि पत्याएका छैनन्, न त एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई विश्वास गरेका छन् । समाजवादी मोर्चामा यादवलाई ल्याउन प्रचण्डको पनि अहिले खासै रुचि भने छैन । एमाले–कांग्रेसको गठबन्धन बन्दा सबैभन्दा पहिले समर्थन गर्ने यादव नै थिए । प्रधानमन्त्री ओलीले ६ साउनमा लिएको विश्वासको मत जसपा नेपालले पनि दिएको थियो तर उनी कांग्रेस–एमाले गठबन्धनमा भने छैनन् ।

    एमाले–माओवादीको गठबन्धनको सरकार हुँदा अध्यक्ष यादव विपक्षी गठबन्धन कांग्रेसको साथमा थिए । कांग्रेसले एमालेसँग गठबन्धन बनाएपछि जसपा नेपाल बाहिर नै छन् । तर, मधेशको अर्को घटक लोकतान्त्रिक समाजवादी पाटी ९लोसपा० भने सरकारमा छ ।

    संघीय सरकारमा जसपा नेपाललाई सहभागी नगराएपछि उसले मधेश प्रदेशमा गठबन्धनलाई साथ दिएन । जनमत पार्टीको नेतृत्वमा बनेको सरकारको विपक्षमा जसपा नेपाल उभिएको थियो । कांग्रेस, एमाले, माओवादीसँग मात्र होइन, एकताका लागि एक समय प्रक्रिया सुरु गरिसकेको नेकपा एससँग पनि अहिले जसपा नेपालको सम्बन्ध छैन । मधेश केन्द्रित दलमध्ये जनमत पार्टी, लोसपा पनि जसपा नेपालको राम्रो सम्बन्ध छैन ।

    कांग्रेस–एमाले गठबन्धनसँग जसपा नेपालले मधेश प्रदेश सरकारमा दाबी गरेको थियो बरु संघीय सरकार चाहिँदैन तर मधेश प्रदेश सरकार आफूलाई दिन जसपा नेपालको जोड थियो । जसपा नेपालको मागमा कांग्रेस सकारात्मक देखिए पनि एमालेले जनमत पार्टी नेतृत्वकै मधेश प्रदेश सरकारलाई निरन्तरता दियो । त्यसपछि जसपा नेपाल विपक्षमा बस्ने निर्णय गर्न बाध्य भयो ।

    मधेशमा जनमत पार्टीले जसपा नेपाललाई ठाउँठाउँमा घेरा हालेको छ भने केन्द्रमा लोसपा नेपालले उसको बाटो अवरोध गरेको छ । जसपा नेपाल विभाजन भएपछि तत्कालीन एमाले–माओवादी केन्द्र नेतृत्व सरकारबाट समर्थन फिर्ता लिएका अध्यक्ष यादवले त्यही दिन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेट गरी सहकार्यका लागि आग्रह गरेका थिए । तर, ठाकुरले ‘देखेंगे’ भन्ने जबाफ दिएपछि उनीहरूबीच त्यसयता कुराकानी भएको छैन । पछिल्लो समय सबै दलसँग सहकार्य टुटेको जसपा नेपालको आगामी रणनीति के हुने हो भन्ने अझै स्पष्ट भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images