
काठमाडौं । तिहारको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिताको आयोजना गरिएको छ ।
ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्टको संयोजनमा नेपाल पर्यटन बोर्ड, पर्यटन पत्रकार संघ (जाट–नेपाल), सेफ एसोसिएसन अफ नेपाल, महिला उद्यमी संघ, ऊनी वस्तु विकास संघलगायतको आयोजनामा सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरिएको हो ।
मौलिक खाना सेलरोटीको जगेर्नामार्फत पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता गरेको पर्यटन पत्रकार संघ (जाट–नेपाल) का अध्यक्ष देवीप्रसाद पन्तले जानकारी दिए।
प्रतियोगिताकी संयोजक सावित्री ढुंगानाले यो प्रतियोगितामार्फत नेपाली महिलाको मौलिक सीप उजागर गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने बताइन् ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न १३ समूहका २६ जना महिलाको सहभागीता थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारस्वरुप चामल दिइएको थियो ।
प्रतियोगिताको निर्णायकमा सेफ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं सेफ एसोसिएसन फाउण्डेसनका सञ्चालक श्याम लामा, वरिष्ठ सेफ रत्नबहादुर थापा, सेफ एसोसिएसन अफ नेपालका महासचिव पदम आलेमगर रहेका थिए ।
उनीहरुले सेलरोटी बनाउँदा ध्यान दिनुपर्ने कुरा र मिश्रण गर्न सकिने सामग्रीबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्