३ असार २०७८, बिहीबार   |  June 17, 2021
advertisement of bishwo khabr
Tika Gurung

बेत सङ्कलन गर्न नपाउँदा लाखौँ घाटा

n 6
टीकापुर नगरपालिका–७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक वनले यस वर्ष बेत सङ्कलन गर्न नपाउँदा लाखौँको घाटा भएको छ । नेपालमै बेतबाँसका नामले परिचित सामुदायिक वनले कोरोना महामारीपछि भएको लकडाउनका कारण  सङ्कलन गर्न नपाएको हो । बेत कटानी शुरु गरेको सामुदायिक वनले लकडाउनपछि कटानी कार्य निरन्तर गर्न सकेन । 

“करीब एक हजार ३०० क्विन्टलमात्र बेत काट्न भ्याइएको थियो, त्यसपछि लकडाउन भयो”, वन समितिका अध्यक्ष धनसिंह साउँद भन्नुहुन्छ, “कोरोना महामारी समुदायस्तरमै फैलिएपछि भएको निधेषाज्ञाका कारण भीडभाड गर्न नमिल्दा बेतको कारोबारसमेत गर्न पाइएन ।” वन समूहले यस वर्ष तीन हजार २०० क्विन्टल बेत काट्ने लक्ष्य लिएको थियो । 

“कटानी चलिरहेकै समयमा लकडाउन हुँदा कामदारसमेत काममा आउन समस्या भयो, समुदायमा सङ्क्रमण फैलिएकाले जोखिम पनि थियो, अब त बर्खा लागिसक्यो”, अध्यक्ष साउँद भन्नुहुन्छ, “यस वर्ष हामीलाई रु ३६ लाखसम्म घाटा लाग्छ, सामुदायिक वनले स्थानीयस्तरमा बिक्री भएर बचेको बेत लिलामी पक्रियामा बेच्ने गरेको थियो, लिलामी प्रक्रियामा पनि बेत प्रतिकिलो रु ६० देखि ६५ सम्ममा बिक्री गर्ने गरेका थियौँ ।”

कोरोना महामारीका कारण बेत कटानी गर्न कामदारसमेत आउन नसकेपछि यस वर्ष उत्पादन भएको बेत खेर जाने भएको हो । जसले कामदार र वन समिति दुवैलाई घाटा भएको छ । वन समितिको आम्दानी घटेपछि यसले अन्य क्षेत्रमा समेत प्रभाव पार्ने स्थानीयवासीको भनाइ छ । सामुदायिक वनले चार प्लटमा बेत विस्तार गरेको छ । जिल्ला वन कार्यालयसँग बर्षेनि एउटा प्लटको अनुमति लिएर बेत काट्ने गरेको वन समितिले अर्को वर्ष यस वर्ष कटानी शुरु गरेको प्लटको बेत काट्न पाउँदैन । 

“वन समितिमात्र होइन मजदूर र उपभोक्ता सबैको रोजगारीमा समेत समस्या भएको छ”, स्थानीयवासी मानबहादुर ठकुल्ला भन्नुहुन्छ, “वन समितिले यसरी उत्पादन भएको बेत सुकाएर बिक्री गर्ने गरेको थियो ।” सामुदायिक वनमा यसरी उत्पादन भएको बेत अढाई सय क्विन्टलसम्म स्थानीय स्तरमा र बाँकी अन्य जिल्लामा बिक्री हुने गरेको छ । सामुदायिक वनमा बेत उत्पादनपछि यहाँ बेतका फर्निचर निर्माणमा समेत युवाको सहभागिता बढेको छ । 

बेतका फर्निचर निर्माणमा संलग्न वीरबहादुर चौधरी सामुदायिक वनले दिएको तालीमपछि आफू व्यवसायी बनेको बताउनुहुन्छ । “वन समितिले भत्तासहित तीन महिना बेतका फर्निचर निर्माण गर्ने तालीम दिएको थियो, तालीममा सहभागीपछि आफ्नै फर्निचर उद्योग खोलेको छु”, चौधरीले भन्नुभयो, “आवश्यक बेत वनबाटै किनेर ल्याउँछु, फर्निचर काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n