images
images
  • चितवन-२ मा थपिए ६ सय ३१ मतदाता

    चितवन- चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् ।

    प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

    निर्वाचन कार्यालयका अनुसार वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको छ पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिने छ ।

    चितवन क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने बताइएको छ ।

    मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

    गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images