मनाङ– मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन्।
गठबन्धन बनाएर देशभर प्रतिस्पर्धा गरेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला दललेसमेत उम्मेदवारी नदिएपछि मनाङे दोस्रो पटकका लागि गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
मनाङेलाई आफ्नो पक्षमा ल्याउन त्यहाँ कांग्रेस, एमाले र माओवादीले उम्मेदवार खडा गरेका थिएनन्।
अघिल्लो चुनावमा उनी त्यही क्षेत्रबाट १४१० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए।
मनाङका सहायक निर्वाचन अधिकृत तारा बडूका अनुसार अर्का एक स्वतन्त्र दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिइसकेका छन्।
‘स्वतन्त्रमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले बिहान १०ः८ मा उम्मेदवारी फिर्ताको लागि आवेदन दिनुभएको छ’, उनले नेपालखबरलाई भने, ‘अब अहिले नै राजीव गुरुङ निर्विरोध निर्वाचित भन्न त मिलेन। १ बजेसम्म दाबी विरोधको समय छ। त्यसपछि चाहिँ उहाँ निर्विरोध भएको औपचारिक घोषणा हुन्छ।’
जहाँ पार्टीका उम्मेदवारै छैनन्, स्वतन्त्र मात्रै मैदानमा
उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र विपक्षी एमाले गठबन्धन दुवैको उम्मेदवार आफैँ रहेको दाबीसहित गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले उम्मेदवारी दर्ता गराएका थिए।
यो क्षेत्रमा मनाङेलाई चुनौती दिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो मनोनयन फिर्ता लिएपछि मंसिर ४ को निर्वाचनमा संसद यात्रा तय गर्ने मनाङे पहिलो उम्मेदवार भएका छन्।
मनाङको प्रतिनिधि सभा र ‘क’ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएका थिए। तर प्रदेश सभा ‘ख’ मा कुनै दलले उम्मेदवार अघि सार्न सकेका थिएनन्।


विश्व खबर 




















