images
images
  • मिटरब्याजीविरुद्ध देशभर १,८३२ उजुरी

    काठमाडौं– चर्को व्याजमा ऋण दिएर विचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेश प्रदेशका छन् ।

    मधेशमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत भएको कार्यदलका संयोजक सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

    मधेशपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् ।

    साहुले चर्को व्याजमा ऋण दिने र नतिरको भन्दै घर र जग्गा नै हडपेपछि पीडितले काठमाडौंको माइतीघर मण्डलामा आएर पटकपटक प्रदर्शन गरेपछि सरकारले गृह मन्त्रालयका सह–सचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

    कार्यदलले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी संकलन गरेको थियो । कार्यदल संयोजक भुसालका अनुसार अझै केही जिल्लाबाट विवरण आउन बाँकी छ । ‘सबै विवरण आएपछि यो संख्या अझै बढ्नेछ’ उनले भने ।

    कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।

    कार्यदलको सदस्य सचिव सीआईबीका डीएसपी रोशन खड्कालाई तोकिएको छ ।

    कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images