
काठमाडौं- आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो ।
विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार कक्षा ११ र १२ का विद्यार्थीको लागि पनि प्रचार सूचना सार्वजनिक गर्न पत्राचार गरेपनि केही संस्थागत विद्यालयहरुले सार्वजनिक नगरेको उजुरी परेपछि महानगर शिक्षा विभागले सूचना सार्वजनिक गर्नुपरेको जनाएको छ ।
यो वर्षदेखि भने महानगरले कडाइका साथ लागू गर्ने जनाएको छ ।
विगतका वर्षहरुमा प्रचार सूचना टाँस नगर्ने र आफुखुशी विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको महानगरले जनाएको छ । महानगरले प्रकृया पु¥याउँदा समय लाग्ने भएकाले भदौ १५ सम्म व्यवस्थापन गरिसक्न निर्देशन दिएको छ ।
काठमाडौंका अधिकांश संस्थागत विद्यालयहरुले दिने छात्रवृत्ति पारदर्शी नहुने एक अभिभावक बताउँछिन् । उनको छोरा अध्ययन गर्ने विद्यालयले प्रचार सूचना सार्वजनिक गरेपनि छात्रवृत्ति भने विद्यालयले आफुखुशी दिने गरेको बताउँछिन् । भन्छिन् ‘मेरो छोरा र छोरी फरक–फरक विद्यालयमा पढ्छन् । छोराको विद्यालयले सूचना निकाल्छ तर पाउनुपर्नेले छात्रवृत्ति पाएको थाहा छैन । छोरी पढ्ने विद्यालयले त सूचना समेत निकालेको थाहा छैन ।’
आम्दानी खर्च हिसाबसँग पनि जोडिने भएकाले संस्थागत विद्यालयहरुले दिने छात्रवृत्ति पारदर्शी नहुने अभिभावक महासंघका अध्यक्ष सुप्रभात घिमिरे बताउँछन् । सरकारले पनि पारदर्शी नभएका विद्यालयलाई कडाइ गर्ने नीति नभएको उनको भनाइ छ । चलेका विद्यालयहरुले छात्रवृत्ति दिएपनि पाउनुपर्ने व्यक्तिले पाए भन्नेमा भने विश्वस्त हुन नसकिने उनको भनाइ छ । ‘नाम चलेकाहरुले दिन्छन् तर उनीहरुले दिएको छात्रवृत्तिबाट आवश्यकता भएका नै लाभान्वित हुन्छन् भन्न सकिने अवस्था चाहिँ छैन,’ भण्डारी भन्छन् ‘नचलेकाहरुले फेरि छात्रवृत्ति नै नदिने अवस्था पनि छ ।’
नाम चलेका ठूला भनिएका विद्यालयहरुले विभिन्न व्यक्तिहरुको दबाबमा विद्यालयले आवश्यकता महसुस गरेभन्दा फरक व्यक्तिलाई दिनुपर्ने बाध्यता र सानाहरुले भने विद्यार्थी कम भएको कारण नदिने अवस्था रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्