images
images
  • एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन

    काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ ।

    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निवेदनमाथि छानबिन गरी दल दर्ताको मान्यता दिइने बताए । ‘एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलले आयोगमा निवेदन दिएका छन्,’ उनले भने, ‘निवेदनमाथि छानबिन गरी आयोगले दल दर्ताको मान्यता दिनेछ ।’

    यस्तै एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन आयोगमा दिएका छन् ।  निवेदन दिने दलमा माओवादीको निर्वाचन चिह्नबाट नेपाल समाजवादी पार्टी, नेपाल आमा पार्टीको निर्वाचन चिह्नमा नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीको चिह्नबाट समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टीको चिह्नबाट नेकपा (समाजवादी) र नेपाल दलित पार्टी रहेका छन् ।

    ०७४को निर्वाचनमा समाजवादी जनता पार्टी र जागरण पार्टी नेपालले माओवादीको निर्वाचन चिह्न, राष्ट्रिय नागरिक पार्टीले राष्ट्रिय शिव सेना पार्टीको निर्वाचन चिह्न र पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिएका थिए ।

    आयोगले संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो ।

    आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन आह्वान गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images